निजगढ,सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित शहिद चोकमा मंगलवारबाट सुरु भएको रिले अनसन बुधवार दोस्रो दिन पनि जारीे रहेको छ ।

अनसनको पहिलो दिन मंगलवार साँझ ५ बजेबाट २४ घण्टासम्म अनसन बसेकाहरुलाई अर्को समुहले बुधवार साँझ ५ बजेबाट पालो दिएको हो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको आयोजनामा विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन माग गर्दै रिले अनसन सुरु भएको हो ।

बुधवारको रिले अनशनमा माधव न्यौपाने, रामकुमार शर्मा, हरिप्रसाद चौलागाई, शिवराम श्रेष्ठ, प्रकाश श्रेष्ठ, राजन श्रेष्ठ, युवराज न्यौपाने, हिरामणी तिमल्सिना, सुदीप कोइराला, समुन्द्र नेपाल, जुगल लामिछाने, गणेश राजभण्डारी र दिनेश त्रिपाठी सहभागी भएका छन । उनीहरुले २४ घण्टासम्म अन्न र पानीसमेत नखाइ अनसन गर्ने निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच बुधवार पनि निजगढस्थित राजमार्गमा २ घण्टा धर्ना र चक्काजाम गरिएको छ । अदालतको फैसलाको विरोधमा निजगढमा स्थानीयले १५ दिनअघिदेखि सडकमा चक्काजाम र धर्ना दिदै आएका छन ।

Leave a Reply