निजगढ,निजगढ नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासी कार्यको बोलपत्र आह्वान गर्ने भएको छ । नगरपालिकाको बिहीवार बसेको कार्यपालिका बैठकले नदीजन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्का बन्दोबस्त गर्न जिल्ला समन्वय समितिलगायत सरोकारवाला निकायहरुमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि पत्राचार गर्ने निर्णय गरेको हो ।

ढुङ्गा, गिटी, बालुवा उत्खन र निकासी रोक्न माग गर्दै नगरपालिका विरुद्ध परेको रिट अदालतले खारेज गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गर्ने तयारी सुरु गरेको हो । उच्चअदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सरोकारवालाहरुसंग समन्वय र सहमतिमा ठेक्का लगाउन आदेश दिएको र सोही अनुसार नगरपालिकाले ठेक्का लगाउने तयारी गरेको नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला अनुगमन समिति बाराको टोलीले बुधवार निजगढ नगरपालिकाको बकैया र धन्सार खोलाको अनुगमन गरेको छ । टोलीमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, उपप्रमुख चण्डिका उप्रेती, डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहरप्रसाद कुर्मीसहितको टोलीले बकैया र धन्सार खोलका विभिन्न प्लटहरुको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा निजगढ नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल र स्थानीय संचारकर्मी र सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा समन्वय समितिका प्रमुख साहले अदालतको आदेशअनुसार नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको क्षेत्रमा उत्खननको ठेक्का लगाउन सक्ने बताउनुभएको छ । उहाँले अदालतको निर्देशनलाई ख्याल गर्दै सरोकारवाला निकायसंगको छलफलको आधारमा ठेक्का प्रकृया अघि बढाइनुपर्ने पनि बताउनुभयो ।
त्यसैगरी डिभिजन वन कार्यालय सिमराका सहायक वन अधिकृत कुर्मीले ठेक्का लगाउने बारेमा वन कार्यालय र निजगढ नगरपालिकाबीच कुनै असमझदारी नरहेको बताउनुभयो । उहाँले कानुनभित्र रहेर ठेक्का लगाइनुपर्ने बताउदै ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा संकलनको ठेक्का लगाउँदा वन तथा वातावरणीय पक्षको संरक्षणमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।
अदालतको निषेधाज्ञापछि नगरपालिकाले ४ महिनाअघि लगाउनुपर्ने नदीजन्य पदार्थ उत्खनन र संकलनको ठेक्का बन्दोबस्त गर्न सकेको छैन । नगरपालिकाको प्रमुख आन्तरिक आयस्रोतको रुपमा रहेको बकैया र धन्सार खोलामा कार्यालयले अघिल्लो वर्ष १६ करोड र गत वर्ष १३ करोडमा नदीजन्य पदार्थको ठेक्का लगाएको थियो ।


















