कलैया,बारा जिल्लामा रहेका १६ स्थानीय तहमध्ये ३ वटा स्थानीय तह आर्थिक वर्ष ०८०÷०८१ का लागि समयमै निति तथा कार्यक्रम र बजेट ल्याउन असफल भएका छन ।संविधान र कानुनले स्थानीय सरकारलाई बजेट ल्याउन दिएको समय सीमा असार १० भित्रै जिल्लाका अन्य १३ पालिकाले बजेट प्रस्तुत गरेपनि तीन वटा पालिका भने असफल बनेका हुन । बजेट प्रस्तुत गरेका केही स्थानीय तहहरुमा पनि विवाद देखिएको छ ।जिल्लाको आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाले बजेट ल्याउन नसकेका हुन । आदर्शकोतवालमा विवादका कारण बैठक नै आव्हान हुन सकेको छैन भने जीतपुरसिमरा उपमहानगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेर पनि बजेटे ल्याउन सकेको छैन । त्यसैगरी सिम्रौनगढ नगरपालिकाले जेष्ठ १० गते आयोजना गरेको नगरसभा विवादका कारण सुरु हुने बित्तिकै स्थगित बन्न पुगेको थियो ।समयमै बजेट ल्याएको निजगढ नगरपालिकाले ८० करोड १५ लाख ८६ हजारको बजेट ल्याएको छ । निजगढले यसअघिको भन्दा करिब १५ करोड बजेट घटाएको हो । निजगढ जस्तै अन्य पालिकाले पनि पहिलेको भन्दा बजेटको साइज निक्कै घटाएका छन् ।पचरौता नगरपालिको १०औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख तथा नगर सभाका अध्यक्ष जलन्धर सिंहको अध्यक्षतामा स्वास्थ्य, शिक्षा, कृषि, शिक्षा, खानेपानी, सिँचाई र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ५१ करोड ८८ लाख ६० हजार ७ सय बराबरको बजेट ल्याएको छ ।त्यस्तै देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३१ करोड ७ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादवले बजेट प्रस्तुत गर्नुभएको हो ।बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको गाउँसभामा अनुमानित ३८ करोड ३८ लाख ८५ हजार २ सय रूपैयाँको बजेट ल्याएको छ ।प्रसौनी गाउँपालिकाका अध्यक्ष एवं नगरसभाका अध्यक्ष विनोद जैसवालको अध्यक्षतामा रु ४५ करोड ४५ लाखको बजेट ल्याएको छ । उपाध्यक्ष किरण देवीले ४५ करोड ४५ लाख ७५ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।परवानीपुर गाउँपालिकासभाले ३५ करोड ७७ लाख ४४ हजारको आय विवरणसहित बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको अध्यक्षातामा भएका सभामा केही जनप्रतिनिधिहरूबीच रजिस्टरमा उपस्थिति हाजिर गराउने विषयमा विवाद हुँदा हात हालाहाल समेत भएको थियो ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न नगरसभाले १ अर्ब ५४ करोड ३८ लाख ६६ हजारको बजेट ल्याएको छ ।कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा १०औं नगरसभाले ६४ करोड २८ लाख ८० हजारको बजेट ल्याएको छ ।महागढिमाई नगरपालिकाका नगरसभामा नगर प्रमुख उपेन्द्रप्रसाद यादवले ६६ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।करैयामाई गाउँपालिकाको १३ आंै गाउँसभा अध्यक्ष शम्भुप्रसाद यादको अध्यक्षतामा ३९ करोड ५१ लाख ७१ हजारको बजेट ल्याएको छ ।विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षतामा भएको १३औं गाउँसभाले ३३ करोड ९७ लाख ९० हजारको अनुमानित बजेट पारित गरेको छ । बाराको फेटा गाउँपालिकाले ३५ करोड ६३ लाख ६२ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष नीलम साहले बजेट पेश गर्नुभएको हो । अध्यक्ष रूस्तम अन्सारीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।

Leave a Reply