काठमाण्डौ – साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ’ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।प्रतियोगिताको १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टोलीको रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेको श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएको छैन ।दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो असार १९ गते हुनेछ ।



















