निजगढ,आगामी बैशाख १० गते हुने लागेको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बिहीवार सुवर्ण गाउँपालिकामा मतदाता घरदैलो र देवताल गाउँपालिकामा चुनावी सभा गर्नुभएको छ ।क्षेत्रको उत्तरी भेगमा पर्ने कोल्हबी र करैयामाईको घरदैलो पुरा गरेपछि उम्मेदवार पौडेलको टोलीले दक्षिणी भेगमा प्रचार केन्द्रीत गरेको हो ।कोल्हबी र करैयामाईमा राम्रो जनाधार रहेको एमालेले दक्षिणी क्षेत्रमा पर्ने यी सुवर्ण, देवताल गाउँपालिकाको र पचरौता नगरपालिकामा मत बढाउन सकेको अवस्थामा उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सकिने आकालनका साथ चुनावी अभियानलाई जारी राखेको हो ।संगठन र जनधार पनि अपेक्षाकृत कमजोर मानिएको भए पनि सुवर्ण र देवतालमा पौडेलको उम्मेदवारीसंग एमालेको पक्षमा लहर सृजना भएको देखिन्छ । ०४८ र ०५४ सालको प्रतिनिधि सभा सदस्य पदमा बाराको क्षेत्र नम्बर ३ बाट पौडेल चुनाव लड्दा देवताल गाउँपालिका र साविकको हर्दिया र मझेरिया गाविस हाल क्षेत्र नम्बर २ को सुवर्ण गाउँपालिकामा रहेका छन । ०४८ को निर्वाचनमा थोरै मतले पराजित बनेपनि पौडेल ०५४ मा सोही क्षेत्रबाट अत्याधिक मतका साथ सांसदमा विजयी बन्नुभएको थियो । त्यतिबेला पौडेलले उक्त पालिकाबाट लोकप्रिय मत प्राप्त गर्नुभएको थियो ।संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर ६ बाट टिकट पाएपछि पौडेलले सो क्षेत्रका मतदातासंग प्रतक्ष्य भेटघाट गर्न भ्याउनुभएको थिएन । त्यसपछि सो क्षेत्रमा एमालेको संगठन पनि छिन्नभिन्न जस्तै बन्नपुगेको थियो । पछिल्लो २ आमनिर्वाचनमा त क्षेत्र नम्बर २ बाट एमालेले उम्मेदवार नै खडा गर्न नसकेपछि उक्त पालिकाहरुमा एमाले झन कमजोर बन्दै गएको हो । तर पौडेलको उम्मेदवारीले क्षेत्र नम्बर २ मा एमाले पुरानै अवस्थामा फर्किएको एमालेका प्रदेश कमिटी सदस्य एंवंम देवताल गाउँपालिकाका नेता कौशलकिशोर सिंह बताउनुहुन्छ बताउनुहुन्छ । ‘पार्टी अब फेरि पुरानै लयमा फर्किएको छ, सिंहले भन्नुभयो, छिन्नभिन्न भएका कार्यकर्ता र मतदाता फेरि संगठित बनेर एमालेको पक्षमा आएका छन ।’ उहाँका अनुसार एमाले उम्मेदवार पौडेल क्षेत्रमा लोकप्रिय र सर्वसाधारण मतदातासंग चिरपरिचित रहेकोले मतदातामा उत्साह थपिएको छ । घरदैलोको क्रममा पौडेललाई स्थानीय मतदाताले उत्साहजनक रुपमा स्वागत गरेका थिए । पौडेल जस्तो इमान्दार र विकासप्रेमी नेता उम्मेदवार पाएको भन्दै सर्वसाधारण खुसी भएका हुन । चुनाव प्रचारको क्रममा मतदाताले घरघरबाट आएर पौडेललाई खादा र माला लगाएर स्वागत गरेका थिए ।नेकपा एमाले क्षेत्र नम्बर चुनाव प्रचार समितिका संयोजक एंव बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले आफूहरुले देवताल, सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकामा चुनाव प्रचार अभियानलाई केन्द्रीत पारेको बताउनुभयो । उहाँले दक्षिणी क्षेत्रमा पनि एमालेको पक्षमा राम्रो मत रहेको र पौडेल विजयी हुने बताउनुभयो । ‘यसपाली एमालेलाई दक्षिणी भेगबाट पनि राम्रो मत प्राप्त हुन्छ, मैनालीले भन्नुभयो, यस क्षेत्रका जनता सूर्य चिन्हमा मतदान गर्न आतुर देखिएका छन ।’ उहाँले दक्षिणी भेगमा पर्ने पालिकामा पनि एमालेको जनाधार कमजोर नभएको पनि दाबी गर्नुभयो । ‘गत स्थानीय निर्वाचनमा पचरौता नगरपालिकामा एमालेले जितेको छ, सुवर्ण र देवतालमा यसपटक धेरै भोट वृद्धि हुन्छ ।’ चुनाव प्रचारको क्रममा मतदातामा देखिएको उत्साहाले एमाले उम्मेदवार पौडेलको लोकप्रियता स्पष्ट भएको बताउनुभयो ।सुवर्णको घरदैलोपछि एमालेले बिहीवार नै देवतालको पिप्राढीमा चुनावी सभाको समेत आयोजना गरेको थियो । सभामा चुनाव प्रचार समितिका संयोजक मैनाली, बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला साह, एमाले नेता इकवाल मिया, कौशल किशोर सिंहलगायतले निर्वाचनमा एमालेलाई जिताउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।एमाले उम्मेदवार पौडेलले पनि दक्षिणी क्षेत्रका ३ वटै पालिकामा भएको चुनावी सभा र घरदैलो कार्यक्रमपछि आफू निक्कै उत्साहित भएको बताउनुभएको छ । उहाँले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ– ‘क्षेत्रका जनताले अपार माया र समर्थन गर्नुभएको छ । अत्यधिक मतदाताहरुले खुसी व्यक्त गर्नु भएको छ । धेरैले विजयको शुभकामना दिनुभएको छ । र यो चुनाव परिणाम मेरो सूर्य चिन्हको पक्षमा आउने छ भन्ने कुरामा निकै आशावादी छु ।’ पचरौतमा भने एमालेले यसअघि नै घरदैलो र चुनावी सभाको आयोजना गरिसकेको छ ।



















