निजगढ,मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये बाराकी मञ्जु थापामगर लेखा समितिको सभापतीमा चयन हुनुभएको छ । नेकपा एमालेको तर्फबाट समानुपातिक सदस्य रहनुभएकी थापाससहित समितिको सभापतीमा ३ जना महिला चुनिएका छन । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो ।सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) की थापामगर, विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदादास पहाडी र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव सभापतिमा चयन हुनुभएको छ । विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आज पद तथा गोपनियताको शपथ गराउनुभयो । उहाँहरुले आजै पदभार पनि ग्रहण गर्नुभयो । कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ । मधेस प्रदेशमा अर्थ तथा योजना समितिमा सभापतिसहित ११, कृषि तथा भूमि व्यवस्थापन समितिमा १२, प्रदेश मामिला समितिमा नौ, प्राकृतिक स्रोत तथा वातावरण समितिमा १२, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा १३, विकास समितिमा १२ र सार्वजनिक लेखा समितिमा १५ सदस्य रहन्छन् ।




















