बारा,वीरगन्ज, काठमाडौं–बनेपा रुटमा चल्ने न्यु एन्जल ट्राभल्सले यात्रु ठग्ने गरेको पाइएको छ ।

एन्जलले यात्रुसँग बढी भाडा लिने मात्रै नभएर तोकिएको समयमा यात्रा नगराएर दुःख दिने र दुव्र्यवहार समेत गर्ने गरेको यात्रुले गुनासो गरेकाछन ।
सोमबार काठमाण्डौंबाट न्यु एन्जलको रात्री बसमा सिमरा आउनुभएकी कविता सापकोटाले १ हजार १ सय रुपैंयामा फोनबाट टिकट बुक गरेको तर बसमा चढेपछि जवरजस्ती १ हजार २ सय लिएको गुनासो गर्नुभयो ।
फोनमार्फत भाडा तय भएको बताउँदा गाडीका सहचालकले उल्टै झर्कीफर्की गरेको उहाँले बताउनुभयो । यस विषयको छिनोफानो गरिदिन सिट बुक गर्ने व्यक्तिको मोवाईसमा पटक पटक सम्पर्क गर्दा फोन नउठेको उहाँको भनाइ छ । ७ बजे कलंकी बोलाएर साँढे ८ बजे राती बस छुटेको उहाँले सुनाउनुभयो । आफसँग ट्राभल्सका कर्मचारीले योजनाबद्ध तरिकाले बढी भाडा लिएको उहाँको भनाइ छ ।
बोली र व्यवहार फरक गर्ने, यात्रु फसाउने न्यु एन्जलको धन्दा नै रहेको अन्य यात्रुले पनि बताएका छन । पहिला एकथोक भन्ने पछि अर्को कुरा गरेर ठगी गर्ने सो कम्पनीबाट आफु पनि ठगिएको बारा कलैयाका रमेश भगतले बताउनुभयो ।
‘केही दिन पहिला मलाई पनि त्यस्तै भयो, पहिला थोरै भाडामा कुरा भयो । पछि जवरस्ती बढी पैसा लिइयो ।’ उहाँले भन्नुभयो । ‘डिलक्स एसी भन्छन तर एसी चल्दैन । यात्रुले चलाउन अनुरोध गर्यो भने कर्मचारी उल्टै रिसाउँछन् ।’ भगतले भन्नुभयो । डिलक्स एसीका नाममा मनलाग्दी भाडा असुली समेत न्यु एन्जलले गर्दै आएको पाइएको छ । उसले नेपाल सरकारले निर्धारण गरेकोभन्दा यात्रुसँग बढी रकम असुल गर्ने गरेको पाइएको हो ।
सरकारले गत असार २७ देखि लागु हुने अन्तर प्रदेश सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको नयाँ भाडा दर कायम गरेको थियो । सो अनुसार काठमाडौं–वीरगन्जको २७० किमी दुरीको भाडा दर ८०३ रुपैया मात्रै तोकेको छ । तर न्यु एन्जलले १ हजार २ सय लिएको पाइएको हो ।


















