वीरगञ्ज,स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका वरिष्ठ तथा क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ ।पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर र प्रभावकारी योगदान पु¥याएको आधारमा देवकोटालाई पुरस्कारका लागि छनोट गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।वीरगञ्ज महानगरपालिकाका मेयर रहेका गिरीको वि.सं. २०६० माघ १ गते तत्कालिन माओवादी विद्रोहीहरुद्वारा हत्या भएको थियो ।
पुरस्कृत हुने पत्रकार देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जस्थित नारायणी एफएमका अध्यक्ष रहनुभएको छ । साथै उहाँ रेसखबर अनलाइनका संस्थापकसमेत हुनुहुन्छ । स्थानीय पत्रकारिता, रेडियो प्रसारण तथा डिजिटल माध्यमको विकासमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।यसअघि उक्त पुरस्कारबाट पर्साका बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठलगायत पत्रकारहरू सम्मानित भइसकेका छन् ।स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगञ्ज तथा पर्सा क्षेत्रको पत्रकारिता सुदृढीकरण, व्यावसायिकता अभिवृद्धि र स्थानीय पत्रकारहरूको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।


















