सिमरा, जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका चारवटा संस्थागत (निजी) विद्यालयलाई आधिकारिक शैक्षिक सूचीबाट हटाउँदै बन्द गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती विद्यालयहरूलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस–भ्ःक्ष्क्) बाट हटाइएको जानकारी दिँदै अभिभावकहरूलाई त्यस्ता विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न आग्रह गरेको हो ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साल जेठ १९ गतेको निर्णयबाट विभिन्न कानुनी तथा नीतिगत मापदण्ड पूरा नगरेका कारण चारवटा विद्यालयलाई इमिस प्रणालीबाट हटाइएको हो । उपमहानगरपालिकाको शैक्षिक अभिलेखबाट हटाइएपछि ती विद्यालयहरूको सञ्चालन तथा शैक्षिक मान्यतामाथि नै प्रश्न उठेको छ ।पालिकाको सूचीबाट हटाइएका विद्यालयहरूमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ स्थित रोज एकेडेमी, वडा नं. २ को माउन्ट एभरेष्ट, वडा नं. ७ को अम्ब्रेला अंग्रेजी बोर्डिङ्ग स्कुल र वडा नं. १९ को बाबुलाल एकेडेमी रहेका छन् ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा ती विद्यालयहरू हाल पालिकाको इमिस प्रणालीमा सूचीकृत नरहेको र बन्द गरिएको उल्लेख गर्दै अभिभावक तथा सरोकारवालाहरूलाई सचेत रहन अनुरोध गरेको छ ।
इमिस अर्थात् शैक्षिक व्यवस्थापन सूचना प्रणाली नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा स्थानीय तहहरूले विद्यालयहरूको सम्पूर्ण विवरण अभिलेखीकरण गर्न प्रयोग गर्ने केन्द्रीय डिजिटल प्रणाली हो । यस प्रणालीमा विद्यालयको दर्ता अवस्था, विद्यार्थी संख्या, शिक्षक विवरण, भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, छात्रवृत्ति तथा अन्य प्रशासनिक तथ्याङ्कहरू समावेश गरिएका हुन्छन् ।
कुनै पनि विद्यालय सरकारी मापदण्डअनुसार सञ्चालनमा रहेको पुष्टि गर्न र कानुनी मान्यता प्राप्त गर्न इमिसमा सूचीकृत हुनु अनिवार्य मानिन्छ । यही कारणले इमिसबाट हटाइनु भनेको सम्बन्धित विद्यालयको शैक्षिक तथा प्रशासनिक मान्यतामाथि गम्भीर प्रश्न उठ्नु हो । यस्तो अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अभिलेख र प्रमाणपत्रको वैधानिकतासमेत प्रभावित हुन सक्छ ।
उपमहानगरपालिकाका अनुसार कारबाहीमा परेका विद्यालयहरूले लामो समयदेखि सरकारी मापदण्ड र सञ्चालनसम्बन्धी न्यूनतम सर्तहरू पूरा गर्न सकेका थिएनन् । विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधार, योग्य शिक्षक व्यवस्था, वित्तीय पारदर्शिता तथा विद्यार्थी सुरक्षासम्बन्धी आधारभूत मापदण्डहरू पूरा नभएको पाइएको थियो ।शिक्षा शाखाले पटक–पटक सुधारका लागि निर्देशन, सचेतना तथा समयसीमा दिएपनि विद्यालय सञ्चालकहरूले आवश्यक सुधार नगरेपछि अन्ततः कानुनी प्रक्रिया अनुसार इमिसबाट हटाउने र विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको भनाई छ ।
उपमहानगरपालिकाको यो कदमलाई स्थानीय तहले विद्यालय शिक्षामा गुणस्तर, जवाफदेहिता र कानुनी मापदण्ड कार्यान्वयनतर्फ चालेको कडा कदमका रूपमा हेरिएको छ । यससँगै नगर क्षेत्रमा सञ्चालनमा रहेका अन्य निजी विद्यालयहरूलाई पनि तोकिएका मापदण्ड पूर्ण रूपमा पालना गर्न दबाब बढेको छ ।


















