वीरगञ्ज । निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रामाकान्त चौरसिया पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको कार्यालयमा चलेको छलफलका क्रममा अर्को पक्षमाथि हातपात गरेको आरोपमा चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रशासन कार्यालय पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) भीमकान्त पौडेलको रोहबरमा चलिरहेको छलफलका क्रममा चौरसियाले अर्को पक्षका व्यक्तिमाथि हातपात गर्दै कार्यालयमा रहेको टेबलसमेत तोडफोडसमेत गरेपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।पर्सा प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीकाअनुसार जिल्ला प्रशासन कार्यालयमा हातपात र तोडफोड गरेको भन्ने सूचनाको आधारमा चौरसियालाई नियन्त्रणमा लिइएको हो । उनलाई हाल जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान अगाडि बढाइएको डिएसपी बुढाथोकीले बताउनुभयो ।निर्माण कार्यको क्रममा भएको आर्थिक लेनदेनको विषयलाई लिएर दुबै पक्षबीच विवाद देखिएपछि सहायक सिडिओ पौडेलको कार्यकक्षमा चौरसिया र ढुङ्गा र गिट्टी कारोबार त्रिपुरारीप्रसादबीच छलफल चलिरहेको थियो । छलफलकै क्रममा चौरसियाले त्रिपुरारीलाई गालीगलौज गर्दै हातपात गर्दै कार्यालयमा रहेको टेबलमा समेत तोडफोड गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, ‘उनीहरु बीच लामो समयदेखि चल्दै आएको लेनदेनको विषयलाई समाधान गर्नका निमित्त मेरै कार्यकक्षमा छलफल चलिरहेको बेला उनीहरुले एक अर्कामाथि हातपात गर्दै तोडफोड समेत गरेपछि प्रहरीको जिम्मा लगाएर जिल्ला प्रहरी कार्यालय पठाइदिएका हौँ ।’चौरसियालाई छाड्न दवाव दिन अहिले नेपाली कांग्रेसका ठूला भनिएका नेताहरुले सिडिओ र जिल्ला प्रहरी कार्यालयमा दवाव दिएको बताइएको छ ।



















