जीतपुर,बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

न्यू जगदम्बामाई युवा क्लबको आयोजन र नेपाल रेडक्रस सोसाइटी केन्द्र पर्साको सहयोगमा भएको रक्तदान कार्यक्रममा एकजना महिलासहित ८५ जनाले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष प्रदिपकुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा सत्रुधन पटेल, दिपक पटेल, सिताराम राम, सुशिल चौधरी, धर्मेन्द्र महतो, सुरज गुप्ता, पशुराम राउत कुर्मी लगायतले रक्तदान गर्नुभएको हो ।

कार्यक्रमको उद्धाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद पटेलले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष क्षेत्रीले रक्तदान गर्नु संसारकै सबैभन्दा पुण्यको कार्य भएको बताउनुभयो । उहाँले यसबाट कसैको ज्यान बचाउने भएकोले यस्ता कार्यक्रमको आयोजना गरिएको प्रति क्लबलाई धन्यवादसमेत दिनुभएको थियो । उहाँले आगामी दिनमा पनि क्लवले यस्तै सामाजिक कार्य गर्ने र पालिकाबाट पनि आफूहरु सहकार्य गर्ने बताउँनुभयो ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य उमेश गुप्ताले संसारको सबैभन्दा ठुलो र मानवीय कार्य रक्तदान रहेको हुनाले यस्तो महान कार्यमा सहयोग गर्न सबैसंग अनुरोध गर्नुभयो । उहाँले मठ, मन्दिरमा गएर पूजा गर्नुको सट्टा रक्तदान गरेर पुण्य कमाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्ववडा अध्यक्ष गजेन्द्र पटेलले अहिले वीरगन्ज र बारा जिल्लामा रगतको अभाव भएको र यस्तो अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा आयोजक क्लब र यसमा सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । उहाँले यस्ता कार्यक्रममा समाजका सबै अगुवाले मिलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य महन्त राम, वडा नम्बर ४ का वडा सदस्य जगदीश साह लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रक्तदान गर्नेहरुलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो ।

Leave a Reply