वीरगन्ज,भारतबाट नेपाल प्रवेश गर्ने मुख्यद्वारको रुपमा रहेको वीरगन्ज फेरि एक पटक कोरोना संक्रमणको जोखिममा परेको छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगन्जमा पर्ने र विगतमा जस्तै फेरि कोरोनाको हटस्पष्ट बन्ने आशंका यहाँका चिकित्सकले गरेका छन् । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको भएपनि महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि समस्या पर्ने उत्तिकै जोखिम देखिएको छ । गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगन्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए । तर अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसन बाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् । चैत ३१ गते पोजेटिभ आएका २५ जना होम आइसोलेसन वा अस्पताल बस्ने भन्ने टुंगो लागेको छैन । नारायणीको आइसोलेसनमा आएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् । ३ जनाको मृत्यु भएको छ भने ७ जना अहिले पनि अस्पतालमै उपचाररत रहेको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । वीरगञ्जका सरोकारवाला र जनस्वास्थ्यविज्ञहरुले अब छुट्टै आइसोलेसन सेन्टर नभए भयावह स्थिति आउने बताएका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जनशक्ति र स्रोत साधन जुटाउन आववश्यक रहेको भन्दै कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पताल भइदिए उत्तम हुने बताउनुभयो । ‘वीरगन्ज कोरोनाको मुहान नै भएको भन्दै उहाँले यहाँ गरेको लगानीले देशभरि हुने लगानी जोगाउने बताउनुभयो । सरकारले नाकाको आवागमन व्यवस्थित गर्न र छुट्टै कोभिड अस्पताल बनाउनुपर्ने उहाँको भनाइ छ । लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएकोले कोभिड विशेष अस्पताल सचालनमा अब ढिलाइ गर्न नहुने चिकित्सकहरुको भनाइ छ । नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले कोरोना महामारीसँग लड्न वीरगन्ज गत वर्षको भन्दा कमजोर अवस्थामा रहेको बताउनुभयो । कोरोना विशेष अस्पताल सञ्चालनमा ढिलाइ गर्न नहुने उहाँको पनि सुझाव छ । वीरगन्जमा १ सय देखि १ सय ८० बेडको कोभिड विशेष अस्पताल तयारी अवस्थामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल चिकित्सक संघ नारायणीका सचिव डा. उदयनारायण सिंहले कोभिड संक्रमित र अन्य विरामीलाई एकै ठाउँमा राखेर उपचार गराउने पक्षमा चिकित्सकहरु नरहेको बताउनुभयो । छुट्टै कोभिड विशेष वा सरुवा रोग अस्पताल तयार गर्न आग्रह गरिएको भएपनि कुनै पनि संयन्त्रले चासो नदिएको गुनासो उहाको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निजी अस्पताल र मेडिकल कलेजसँग कोरोना उपचारका लागि सहकार्य गर्ने तयारी भइरहेको बताउनुभयो । नारायणी अस्पतालमा तयार गरिएको आईसीयु र एचडीयू वार्डले मात्रै नपुग्ने अवस्था आउन सक्ने भन्दै उहाँले निजी स्वास्थ्य संस्थाहरुलाई पनि निश्चित संख्यामा बेड छुट्याउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताउनुभयो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एक सय बेडको कोभिड अस्पताल बनाउन पहल गरेको तर सहयोग नपाएको गुनासो गर्नुभयो । शुरुदेखि नै कोभिडका लागि १ सय बेडको अस्पताल तयारी अवस्थामा राखौं भनेर आग्रह गर्दा पनि प्रदेश र केन्द्र सरकार कसैले पनि वास्ता नगरेको उहाको भनाइ छ । अघिल्लो वर्ष महानगरपालिकाले कोभिड अस्पताल सञ्चालन गरेर १० करोड रुपैयाँ खर्च गरेको भन्दै उहाँले तर अहिले फेरि महानगरपालिका एक्लैले कोभिड अस्पताल व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । यसैबीच हिजो साँझसम्मको पछिल्लो २४ घन्टामा देशभर पाँच सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन ्। तीन हजार पाँच सय ८८ जनाको पिसिआर गर्दा चार सय ९० र पाँच सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जना गरी पाँच सय ३४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा एक सय ५७ जनाले कोरोनालाई जितेर घर घर्किएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४ घण्टामा पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ । हाल चार हजार तीन सय ८४ जना संक्रिय संक्रमित रहेको समेत मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here