सेढवा,असार नजिकिदै जान थालेपछि पर्साको ठोरी गाउँपालिकाका किसानहरु धानको बीउ राख्न व्यस्त हुन थालेका छन् । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञामा पनि अधिकांश किसानले सिमावर्ती भारतीय बजारबाट धानको बीउ खरीद गरेर ब्याडमा राख्न सुरु गरेका हुन ्। यतिबेला ठोरीमा चैते धान लगाएका र हिउदे मकै खेती गरेका बाहेक अन्य किसानहरुलाई जेठको दोस्रो साता बित्न नपाउँदै धानको बीउ छर्ने हतारो परेको छ । ठोरीमा छिटफुट बाहेक अधिकांश किसानले भदौ अन्तिम वा असोजको पहिलो सातासम्म पाक्ने धानको खेती गर्ने गरेका छन् । निरन्तर बगिरहने कुलो भएको वडा २ र ३ का केही किसानहरुले ढिलो पाक्ने धान लगाउने गरेको भएपनि अधिकांश किसानको खेतमा भने भदै धानको खेती हुने गरेको छ । अझ आकाशे पानीको भरमा खेती गर्न बाध्य किसानहरुलाई ढिलोमा जेठको दोस्रो सातासम्म धानको बीउ ब्याडमा राख्नुपर्ने बाध्यता छ ।
सामान्यतया असारमा मनसुन धेरै हुने आशामा सिँचाइ सुविधा नभएका ठाउँका किसानहरुले करीब एक महिना अगावै ब्याड राख्ने गरेको ठोरी ४ का किसान रत्नबहादुर श्रेष्ठले बताउनुभयो । आकाशबाट पर्ने पानीको मौका छोपेर धान रोप्नुपर्ने भएकाले ढिलो बीउ छर्दा पानी नपरेर खेत नै बाँझो रहने डर हुने किसान श्रेष्ठले सुनाउनुभयो । ठोरीमा अघिल्लो साता परेको पानीले किसानलाई धानको ब्याड राख्न सजिलो बनाएको छ । खेतमा चिस्यान भएकाले सजिलै बीउ उम्रने ठोरी ४ कै अर्का किसान रामचन्द्र रिसालले बताउनुभयो । यस वर्ष केही दिन अघि परेको पानीका कारण किसान बीउ छर्न उत्साहित भएका हुन ्। ठोरीमा सिचाई लाग्ने खेतमा उन्नत प्रजातिका धान खेती हुने गरेको भएपनि सिचाई नलाग्ने खेतमा भने निश्चित प्रजातिको मात्र धान खेती हुने गरेको छ । ठोरीमा साबित्री, हर्दिनाथ, युएस ३१२, भदै मन्सुली, चाईना बोरु, लोकनाथ लगायत विभिन्न प्रजातिका धान खेती हुन्छ । तर सिचाई सुविधा नभएका ठाउँका किसानले चाईना बोरु, हर्दिनाथ र भदै मन्सुली धान मात्र खेती गर्ने गरेका छन् । छिटो पाक्ने तथा खेतमा पानी समेत कम लाग्ने प्रजातिको धान भएकोले सिचाई नभएका खेतका किसानले सामान्यतया ३ प्रजातिको मात्र धान लगाउने गरेका हुन् ।