कलैया,बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई मंगलवार जनही १० लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले अध्ययन छात्रवृत्तिस्वरुप रकम प्रदान गर्नुभएको हो ।नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौता नगरपालिका वडा नम्बर ५ की निशा चौरसिया र वडा नम्बर १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । निशा र अंशु दुबै एमबीबीएसमा अध्ययनरत छात्र÷छात्रा हुन् ।
नगर प्रमुख सिंहले यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गर्नुभएको थियो । अध्ययनका लागि नगरपालिकाबाट सहयोग प्राप्त गरेकी यादव समेत कार्यक्रममा सहभागी हुनुभएको थियो ।छात्रवृत्ति पाएका छात्र÷छात्राले निर्वाचनको समयमा नगर प्रमुख सिंहले गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए । नगर प्रमुखले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छात्र÷छात्राको भनाइ थियो ।कार्यक्रममा नगर प्रमुख सिंहले राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई समेत सहयोग हस्तान्तरण गर्नुभएको छ । क्रिकेट प्रशिक्षणका लागि सिंहले भुलन सहनीलाई दुई लाख २५ हजार, सुशान्त सिंहलाई एक लाख ५० हजार, सहजाद हुसेन अंसारीलाई एक लाख, अभयकुमार सिंहलाई ६५ हजार र समीर अंसारीलाई ६० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।यसैगरी नगर प्रमुख सिंहले नगर क्षेत्रभित्र रहेका विभिन्न विद्यालयलाई एक सय २६ थान पंखा हस्तान्तरण गर्नुभएको छ ।छात्रवृत्ति र पंखा हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले पचरौताको विकासले गति लिदै गरेको बताउनुभयो । आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढेको बताउदै सिंहले नगरबासीले आगामी दिनमा नगरबासीले अनुभुति हुने गरि काम हुने बताउनुभयो ।पचरौतामा एक सय शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको बताउदै सिंहले हालै संचालनमा आएको प्रयोगशालामा आगामी वर्षदेखि ल्याब परीक्षणलाई निःशुल्क बनाइने बताउनुभयो ।निर्वाचित भएर आएको लामो समय मुद्दामामिलामा अल्झाइएको बताउदै सिंहले पचरौता र नगरबासीको पक्षमा काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । कार्यक्रममा सिंहले एक वर्षमा नगरले गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख नसिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा सहसंयोजक मुकेशकुमार सिंह, अन्य वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीलाई झोला वितरण

कृष्ण मोहन साह

सेढवा, पर्साको जिराभवानी गाउँपालिकामा रहेको श्री वन शक्ति अधारभूत विद्यालय काठमाडौ टोलमा बुधवार एक कार्यक्रमका बीच छात्रवृत्ति रकमबाट एक सय दश जना विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरिएको छ ।झोला विरतण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मोहन साह, विद्यालयका प्रधानाध्यापक गोबिन्द मिर्दाहा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here