निजगढ,बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विरोध जनाएको छ । सरकारले आर्थिक वर्ष ०८०÷०८१ को लागि जेठ १५ गते प्रस्तुत गरेको बजेटमा दुग्ध विकास बोर्ड खारेजीको प्रस्ताव गरेपछि विरोध जनाएको हो ।संघका अध्यक्ष पुरुषोत्तम भट्टराईले हस्ताक्षर गरेर बुधवार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको प्रस्ताव गरिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ ।संघले बारामा रहेका १२ वटा सहकारी संस्थाद्वारा करिब १२ हजार किसान परिवारले उत्पादन गठरेको गाई र भैसीको दुग्ध संकलन गर्दै आइरहेको पनि विज्ञप्तिमा जनाइएको छ । यसबाट औपचारिक क्षेत्रमा करिब दैनिक ५० हजार लिटर दुग्ध दैनिक बिक्री गर्दै ४० लाख रुपैयाँ शहरी पूँजी गाऊँ पु¥याउँदै गरिब विपन्न किसानहरुको आयआर्जनमा सेवा पु¥याउने काम गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।‘यस दुग्ध क्षेत्रको विकास गर्न गठन भएको राष्ट्रिय दुग्ध विकास बोर्डको ठूलो योगदान रहेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गठन भएको ३ दशकमा दुग्ध क्षेत्रको विकासमा राष्ट्रिय दुग्ध विकास बोर्डको भूमिका उल्लेखनीय छ ।’सरकारले यस क्षेत्रको अध्ययन गरी कमी कमजोरी हटाएर बोर्डको पुनः संरचना गरी व्यवस्थित तवरमा संचालन गर्नुपर्नेमा बोर्ड नै खारेजीको प्रस्ताव गरी दुग्ध क्षेत्र तथा एकिकृत गर्ने सहकारी अभियानलाई नै धारासाही बनाउन गरिएको निर्णयप्रति बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघको आपत्ति जनाउदछ भनिएको छ ।राष्ट्रिय दुग्ध विकास बोर्ड यथावत अवस्थामा कायम गरी संचालन गर्न सरकारलाई संघले अनुरोध पनि गरेको छ ।


















