वीरगन्ज,सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगन्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायत किसानहरुले संयुक्त रूपमा आन्दोलन सुरु गरेका छन् ।

सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरुको गुनासो छ ।

किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिए पनि त्यो भनाइमा मात्र सिमित रहेको गुनासो गर्नुभएको छ । उहाँले आइतबार मात्रै २५ सय रुपैया क्वीन्टलमा आफूले धान बेचेर आफ्नो बच्चाको विद्यालयमा शुल्क तिर्न बाध्य भएको गुनासो गर्नुभयो ।त्यस्तै किसान महासंघका जिल्ला अध्यक्ष अमरप्रसाद यादवले सरकारले धान समयमा निर्धारित मुल्यमा नलिदा बिचौलियाले फाईदा लिइरहेको तथा खेतीपातीका लागि धान बेच्न नपाएको र मलसमेत नपाएकोमा अवस्थामा अन्य खेतीपातीलाई ढिलो हुँदा किसानहरुलाई ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सरकारले नसुनेको कारण बाध्यताले आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको कारण सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो दिन किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आधा घण्टा धर्ना समेत दिएका छन् ।यसअघि किसान महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै मंसिर २५ गते आइतवार खाद्य कम्पनीको देशभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिइएको हो । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

Leave a Reply