वीरगञ्ज,भारतबाट स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित बाराका एकजना युवकलाई सशस्त्र प्रहरीले वीरगञ्जमा नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– १६ स्थित भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डमा नियमित जाँचका क्रममा प्रदेश २–०३–००४ प ५६६४ नम्बरको मोटरसाइकलबाट नेपालतर्फ प्रवेश गर्दै गरेको अवस्थामा मोटरसाइकल चालक बारा जिल्लाको विश्रामपुर गाउँपालिका– ३ बरैनिया बस्ने अन्दाजी ४० वर्षका पुरुषलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनले शरीर तथा जुत्ताभित्र लुकाएर ल्याइरहेको ६ लाख रुपैयाँ नगद फेला परेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।बरामद रकमसहित मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


















