पुष्पराज खतिवडा
बारा,शिक्षामा पुस्तान्तरण कार्यक्रम अन्तर्गत शिक्षण सहजकर्ता परिचालनपछि जीतपुरसिमरा उपमहानगरपालिकाका विद्यालयहरुको शिक्षण सिकाइ क्रियाकलापमा सुधार देखिएको जिकिर गरिएको छ ।उपमहानगरपालिकाले सिमरा कलेजको अगुवाइमा पालिकाभित्रका डुमरवाना र बकुलिया गरी ३ वटा क्याम्पसमा स्नातक तहमा अध्ययारत छात्रछात्रालाई संलग्न गराएर शुरु गरेको योे कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको विद्यालयका प्रधानाध्यापकहरुले बताएका हुन ।
सिमरा क्याम्पसले सिमरामा शिक्षण सहजकर्ता खटिएका विद्यालयका प्रधानध्यापकहरुसँगको शैक्षिक सुधारको बारेमा आइतवार आयोजित छलफल कार्यक्रममा शिक्षामा सुधार देखिएको प्रधानाध्याकहरुको जिकिर छ ।

कार्यक्रममा उपमहानगरपालिका प्रमुख राजन पौडेल, प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीसहित उपमहानगरपालिकाभित्रका २१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र संचारकर्मीसमेत गरी करिब ३० जनाको सहभागिता रहेको थियो ।पालिकाको सुगम क्षेत्रको रुपमा रहेको डुमरवाना, सिमरा र जीतपुरमा रहेका सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापकहरु अच्युतदेव सिटौला, सोनी राई, सविन काफ्ले, माधव नेपाल, कृष्ण पौडेल लगायतको सो छलफल कार्यक्रममा सहभागिता थियो ।

सहभागीहरुलाई काठमाण्डौ महानगरपालिकाको नविनतम शिक्षा, प्रविधि र सामाजिक नगर योजना आयोगका सदस्य शेलेन्द्र झा लगायतको टोलीले सहजीकरण गरेको थियो । झाको टोलीले गत वर्षबाटै जीतपुरसिमरा उपमहानगरपालिकाको निकट रहेर यो कार्यक्रम संचालनमा सिमरा कलेजलाई सहजीकरण र सहयोग गर्दै आएको नगर प्रमुुख राजन पौडेलले जानकारी दिनुभयो ।छलफलका क्रममा शिक्षासँग सम्बन्धित समस्या,शिक्षामा पुस्तान्तरण कार्यक्रम अन्तर्गत शिक्षण सहजकर्ता परिचालनपछि विद्यालयमा आएका परिर्वतन र भविष्यको शिक्षामा सकारात्मक परिकल्पना भन्ने विषयमा सहभागीहरुलाई ३ समूहमा विभाजन गरेर छलफल गराइएको थियो ।

सहभागी समूहमा तयार भएका सामग्रीलाई समूह संयोजकले प्रस्तुति गरेका थिए । सो क्रममा सहजकर्ता परिचालनले विद्यालयहरुमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोगसँगै बालमैत्री शिक्षणमा मद्दत पुगेको, विद्यार्थीहरुमा सिर्जनसिलता बढेको, नियमित विद्यालय आउने र शैक्षिक गतिविधिमा सहभागिता बढेको निष्कर्ष सुनाइएको थियो ।
यस्तै विद्यालयमा भौतिक संरचना, विद्यार्थी अनुपात शिक्षक नमिलेको अवस्था, अभिभावकहरुको विद्यालयप्रति कम चासो, शिक्षालाई प्रविधिमा लैजान दक्ष जनशक्तिको अभाव जस्ता समस्या सुनाएका थिए ।

यसैगरी भविष्यमा शिक्षालाई उत्पादनमुखी बनाउनु पर्ने, व्यवहारिक ज्ञान र नैतिक शिक्षामा जोड दिनुपर्ने, शिक्षा सबैको पहुँचमा हुनुपर्नेसँगै आर्कषक र आत्मनिर्भर बनाउन जरुरी भएको सुझाव समूहबाट प्राप्त भएको थियो ।शिक्षामा पुस्तान्तरण कार्यक्रममा तीनवटै क्याम्पसकागरी ६६ जना छात्रछात्र सहभागी छन् । उनीहरुलाई आधुनिक र प्राविधिक शिक्षण शिकाइसँगै पालिकाभित्रका विभिन्न २१ सामुदायिक विद्यालयमा शिक्षणका लागि खटाईँदै आएको छ ।
यसरी अध्ययनसँगै विद्यालयहरुमा खटिएका सहजकर्तालाई सिमरा कलेजमार्फत पालिकाले मासिक १७ हजार ५ सय सुविधा दिँदै आएका छन । यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा जीतपुरसिमरा उपमहानगरपालिकाले क्याम्पसमा प्राविधिक ल्याव निर्माण र सहजकर्ता सुविधाका लागि १ करोड ९० लाख बजेट विनियोजन गरिदिएको सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीले पालिकाले संचालनमा ल्याएको शिक्षामा पुस्तान्तरण कार्यक्रमले पालिकाभित्रका छात्रछात्रालाई सिपयुक्त जनशक्तिका रुपमा तयार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
सुरुवाती चरणमा सबैलाई बुझाउन नसक्दा र बुझ्न नचाहनेहरुका कारण सामान्य समस्या देखिएपनि कालान्तरमा यो कार्यक्रमले पालिकामा शिक्षाको गुणस्तर अभिवृद्धी र शैक्षिक जनशक्तिलाई स्वरोजगारमुखी बनाउँने देखिन्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो ।

Leave a Reply