खासगरी नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ हो ।महासंघको ६०औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । पोखराका अञ्जन श्रेष्ठको नेतृत्वमा महासंघले नयाँ टिम पाएको छ । देशभरिका उद्यमी, व्यवसायीको संस्था भए पनि महासंघमा मुख्यतः राजधानी काठमाण्डौकै व्यवसायीहरुको वर्चस्व हुँदै आएको छ । काठमाडौं बाहिरबाट पनि नेतृत्वमा पुग्ने विरलै उदाहरणमध्ये अब अञ्जन श्रेष्ठ थपिनुभएको छ ।
सडक किनारमा नाङ्लोमा पुष्टकारी र मिठाई बिक्री गर्दै व्यवसायमा आएको परिवारको विरासत अञ्जनसँग छ । आज उहाँको व्यावसायिक घराना ‘लक्ष्मी ग्रुप’ देशकै अग्रणी समूहमा पर्छ ।त्यसैले सानादेखि ठूला उद्यमी व्यवसायीको मर्म अञ्जनले एकसाथ बोक्न सक्ने विश्वास गर्न सकिन्छ । यसअघि उहाँ वरिष्ठ उपाध्यक्ष भएकाले महासंघको विधानअनुसार स्वतः अध्यक्ष हुनुभएको हो ।यसर्थ, अध्यक्षको जिम्मेवारीका लागि तयारी गर्ने मौका अञ्जनलाई यसअघि नै प्राप्त थियो ।
महासंघको नयाँ नेतृत्व चयन भइरहँदा देशको अर्थवृत्तमा चासो बढ्नुको कारण निजी क्षेत्र अर्थतन्त्रको प्रमुख खम्बा हुनुले पनि हो । र महासंघले नै निजी क्षेत्रको तर्फबाट नेतृत्वदायी प्रतिनिधित्व गर्दै आएको छ ।मुलुकको अर्थतन्त्र अहिले यस्तो मोडमा छ, जहाँ सरकारसँग सामञ्जस्य मिलाउँदै अघि बढ्ने निजी क्षेत्र भयो भने र सरकारले पनि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सक्यो भने नेपालीको समृद्धिको सपना साकार हुन सक्छ ।
नेपाली अर्थतन्त्र अन्तर्राष्ट्रिय चापमा त छँदै छ, कोभिडबाट थलिएर तंग्रिन नपाउँदै ‘जेन–जी’ आन्दोलनका क्रममा भएको विध्वंसबाट समेत त्रसित छ र सरकारले पनि अब निजी क्षेत्रलाई तर्साउने पनि काम गर्न चैं हुन्न ।

















