मकवानपुर — प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको दाबी गरेका हुन् ।

 

 

 

‘हाम्रो सहमति भइसकेको छ, अब प्रदेशसभा बैठक बसेर अनुमोदन गर्न बाँकी छ,’ गण्डकी प्रदेशको जिज्ञासामा उनले भने, ‘परिपक्व निर्णयका लागि हामीले यो विषयमा केही ढिलाइ गरेका हौं । अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानीको नामाकरण र स्थान टुंगो लगाउने हो ।’ बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउन नहुने भन्दै उनले सबैको सहमतिमा टुंगो लगाउँदा दीगो हुने बताए ।

 

 

 

उनले राजधानी जहाँ भए पनि उपत्यका बाहिर नै हुने बताए । ‘विकेन्द्रीकरणको विषयमा लामो समय देशमा संघर्ष भयो । अब उपत्यकामै राजधानी हुनुपर्छ भन्ने धारणा गतल हो ।’ उनले धेरै सांसद् उपत्यकाभित्रै भएका कारण आफ्नो सहजताका लागि राजधानीको विषयमा विवाद निकाल्न खोजेको बताए । प्रदेश ३ ले राजधानीको विषयमा समिति बनाएर अध्ययन गरिसकेको छ भने राजधानी टुंगो लगाउने कार्य्विधि पनि संसदबाट पारित गराइसकेको छ । बजेट अधिवेशनमा नै राजधानीको टुंगो लगाउन दबाब रहे पनि प्रदेश सरकारले हिँउदे अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको छ ।

 

 

 

 

मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यक अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भएपनि विस्तारै सहज हुँदै गइरहेको दाबी गरे । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहितको टोलीलाई मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए । प्रदेश ३ को कृषि, शिक्षा, स्वास्थ्यलगायतको नीति तथा कार्यक्रमको विषयमा मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए । गण्डकी प्रदेशले पनि आफ्नो अनुभव सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here