काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलवारसम्मको लागि स्थगित भएको छ ।सोमवारबाट सुरु भएको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिनुभयो ।बाँकी सदस्यहरुले मंगलवार आफ्नो धारणा राख्ने कार्यतालिका छ ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।उक्त प्रतिवेदनहरूमाथि ४९ जना सदस्यले धारणा राखेका हुन् ।
गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले सोमवारको बैठकमा धारणा राखेका हुन् ।बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे धारणा प्रस्तुत गरेका थिए ।स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने लगायतका विषयमा कुरा राख्ने क्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
अर्को बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।
पूर्वराष्ट्रपतिको सदस्यताको विवाद लज्जास्पद
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको लफडा कार्यकर्तालाई लाज भएको बताउनुभयो ।
सोमवारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा सिंहले नेताहरूले अहिले भइरहेको लफडा तुरुन्तै हटाउनुपर्ने बताउनुभयो ।
‘पूर्वराष्ट्रपतिको सदस्यता र जिम्मेवारीवाला लफडा छिटो टुंग्याउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘कसैले नवीकरण भैसकेको छ भन्छ कसैले पेन्डिङ छ भन्छ । जे गर्ने हो छिटो टुङ्ग्याउन जरुरी छ । लाजको पसारो भैसकेको छ ।’

उहाँले उमेरहद आफू अनुकूल हटाउने र राख्ने कुरा अन्त्य हुनुपर्नेपनि बताउनुभयो । ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक संजालमा छरपस्ट पार्ने काम हुँदै छ। सत्यतथ्य के हो ?,’ नेता सिंहले भन्नुभयो ।
उहाँले ७० वर्ष उमेर हद र २ कार्यकाल हटाउदा पदाधिकारीको प्रतिष्पर्धी झन् बढ्ने हुँदा पदाधिकारीको संख्या १९ बाट २१ बनाउन सुझाव दिनुभयो ।

केन्द्रीय सदस्य सिंहले वरिष्ठ उपाध्यक्ष हटाइएकोमा विरोध पनि गर्नुभएको छ ।‘७० वर्षे उमेर हद र २ कार्यकालबारे ईश्वर पोखरेलले बोलेको हुनाले हटाइयो भन्ने चर्चा व्यापक छ,’ सिंहले प्रश्न गर्नुभयो,, ‘के हो कुरो ?’ उहाँले पार्टीका प्रतिवेदनहरू तल्ला तहसम्म लैजान माग पनि गर्नुभयो ।‘विधान महाधिवेशनको बेला विधान र नीतिको मात्रै चर्चा गर्नपर्छ, नेतृत्वको चर्चा गर्न हुँदैन भन्छौं तर आफैं फलाना नै अध्यक्ष हो भन्छौं । यो विरोधाभाषी कुरा अन्त्य हुनुपर्छ,’ केन्द्रीय सदस्य सिंहको माग छ, ‘विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनहरू छिटो प्रकाशित भएर तलसम्म छलफलको लागि आओस् ।’

Leave a Reply