निजगढ,नेपाली कांग्रेसले शनिबार गर्ने भनेको वडा अधिवेशन बारा जिल्लामा भने स्थगित भएको छ । निजगढसहित जिल्लाका १६ वटा पालिकाका वडाहरुमा केन्द्रीय तालिका अनुसार शनिबारको लागि निर्धारण भएको वडा अधिवेशन आइतबार हुने गरी स्थगित भएको हो ।
अधिवेशनको लागि जिल्लामा खटेका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद दहालले आवश्यक तयारी गर्न नभ्याएकाले अधिवेशन स्थगित गर्नु परेको नेपाली कांग्रेश बारा जिल्ला सभापति जयचन्द्र चौरसियाले बताउनुभयो । निजगढमा वडा अधिवेशनको सबै तयारी पूरा भएको र केही वडामा भने आन्तरिक रुपमा सर्वसम्मत नेतृत्व चयन भइसकेको पनि बताइएको छ । सर्वसम्मत भएका वडाहरुलाई आइतबार निर्वाचन अधिकृतको कार्यालयमार्फत औपचारिकता दिइने पनि बताइएको छ ।
निजगढ काग्रेश स्रोतका अनुसार नगरका वडा नम्बर ४, ७, ८ र ९ नम्बर बाहेक अन्य सबै वडामा वडा सभापति र अन्य पदाधिकारीको छनौट कार्य आन्तरिक रुपमा पुरा भएको छ । ती वडाहरुमा भने काग्रेश संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसकेकोले निर्वाचन हुन लागेको हो । यी वडाहरुमा काग्रेश सस्थापन पक्षका नेता शम्भु बुढाथोकी र बरिष्ठ नेता पौडेल समर्थक अर्का नेता एवं निजगढ नगरपालिका नगर प्रमुख सुरेश खनालबीच आआफनो पक्षका कार्यकर्तालाई जिताउन तिव्र होडबाजी चलेको छ । उता, कांग्रेस केन्द्रीय समितिले पार्टीभित्रको विवाद टुङ्ग्याएको भनिरहेको बेला पर्सा जिल्लामा भने गुटगत विवादले शनिबारको लागि निर्धारण गरिएको वडा अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत एंव अधिवक्ता नरेन्द्रकुमार केसीले सूचना निकालेर अर्को सूचना नआउन्जेलसम्म गाउँ÷नगरको वडा अधिवेशन स्थगित गरिएको जानकारी गराउनु भएको छ । काग्रेशले आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको बताएको भएपनि पार्टीभित्रकोे गटगत विवादले अधिवेशन स्थगित भएको बताइएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएपछि कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । त्यस्तै मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन र मंसिर १० मा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन गर्ने तालिका छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ ।