पुष्पराज खतिवडा

मनहर्वा,अत्याधिक चीसो र शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गत आइतबारदेखि बारासहित तराईका जिल्लामा लगातार चीसो बढिरहेको हो । चीसोको कारण हाटबजार, सडक र सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल कम भएको छ । सवारी साधनहरुमा यात्रुको संख्या पनि घेटको छ ।

कलैया, जीतपुर, सिम्रौनगढलगायत जिल्लाका ठूला बजारहरुमा किनमेल गर्न आउनेको संख्या ह्वातै घटेको स्थानीय व्यपारीहरुले बताएका छन् । सिमरा– काठमाण्डौं हवाइ उडान समेत प्रभावित बनेको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।

सिमराबाट यति, तारा, बुद्ध एयरले दैनिक १६ उडान भर्दै आएकामा ४ दिनयता साँझपख मुस्किलले ५ वटा उडान भएको सिमरा नागरिक उड्यन कार्यालय बाराका सूचना अधिकारी एंव विमानस्थलक कार्यालयका उपप्रबन्धक सुरेन्द्र सिंह कुशवाहले बताउनु भयो । मोफसलबाट राजधानी काठमाण्डौंसँग जोड्ने छोटो दुरीको हवाई रुट हो सिमरा ।

शीतलहरका कारण गरिव विपन्नहरुको जीवन जोखिममा परेको छ । बालबालिका, वृद्धवृद्धाहरु जाडो छल्न आगो तापेर सकसपूर्ण तरिकाले बाँचिरहेका छन् । गतिलो ओड्ने र ओछ्याउने सिरक, डसना नहुँदा आगो तापेर बस्ने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरकी ६३ बर्षिया बिसमतीदेवी रामले बताउनु भयो । ‘दिनभरि आगो ताप्ने र रात परेपछि आगोको छेउमा सुकुलमाथि तन्ना ओडेर सुत्ने गर्छौं, उहाँले भन्नुभयो, सिरक डसना किन्ने पैसा छैन, यसरी नै कष्टप्रद जीवन बाच्दै आएका छौं ।’

जिल्लाका दलित र गरिब परिवामा बर्षेनी काल बनेर जाडो आउने गरेको अर्का स्थानीय सकली रामले बताउनुभयो । ‘न्यानो कपडाको अभावमा बालबालिकाहरु स्कुल जान पाउँदैनन, बालबच्चालाई ताजा र पोषिलो खाना दिन मजदुरी गर्न पनि जान सक्ने अवस्था पनि छैन उहाँले भन्नुभयो, यो जाडोको मौसम कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ ।’

जिल्लाको प्रसौनी, कलैया, जीतपुरसिमरा, परवानीपुर, करैयामाई, महागढिमाई लगायतका पालिकाहरुमा रहेका दलित विपन्नहरुको बाक्लो बस्तीका हजारौं सर्वसाधारण जाडोले अतिप्रभावित बनेका छन् । अघिल्ला वर्षहरुमा स्थानीय पालिका, नेपाली सेना र नेपाल प्रहरीले ठाउँठाउमा दाउरा दिएर आगो ताप्ने ब्यवस्था मिलाउने गरेको थियो । सुरक्षाकर्मी र सामाजिक संघसंस्थाको तर्फबाट पनि उनीहरुलाई न्यानो कपडा वितरण गर्ने गरिएको थियो । तर जाडो अत्याधिक बढदा पनि यो वर्ष जिल्लामा जनप्रतिनधि, सुरक्षाकर्मी र संस्थाहरुबाट विपन्नको लागि राहत हुने कार्यक्रम गरिएको छैन ।

नेपाली सेनाको ज्वाला दल गण कलैयाका प्रमुख सेनानी भुपेन्द्र गादारले अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि विपन्नका लागि राहत हुने कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनु भयो । अघिल्लो साता जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट जोगाउन दाउरा, न्यानो कपडासहित जिल्ला सबै पालिकामा सुरक्षाकर्मी परिचालित हुने निर्णय गरेको थियो । सोही आधारमा नेपाली सेनाले आफ्नो तयारी गरिरहेको प्रमुख सेनानी गदारले जानकारी दिनु भयो ।

Leave a Reply