निजगढ, ८ साउन– निजगढ नगरपालिकाले व्यक्तिको नाममा दुषित दर्ता गरिएको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित कित्ता नम्बर १३० को पर्ति जमिन सार्वजनिक गरिनु पर्ने भन्दै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगमा पत्र पठाएको छ ।

साविक निजगढ गाविस वडा नम्बर ८ को पुर्वपश्चिम राजमार्ग नजिक बकैया पुल ड्याम छेउको २ बिहागा ७ कठ्ठा १८ धुर पर्ति जमिन सार्वजनिक नै हुनुपर्ने भन्दै नगरपालिका कार्यालयले आयोगमा पत्राचार गरेको हो । सो जमिनको वास्तविकता बारे १ साताभित्र रायसहित जानकारी गराउन भनेर आयोगले कार्यालयसंग अनुरोध गरेपछि नगरपालिकाले पनि रायसहितको पत्र पठाएको हो ।

नगरपालिककाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले हस्ताक्षर गरेर पठाउनुभएको सो पत्रमा उक्त जमिन जो जसको नाममा दर्ता गराइएको भएपनि प्रचलित कानुनअनुसार बदर गराई सार्वजनिक नै कायम गराउनुपर्ने ठहर गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत विसकसेन ढकालले जग्गाको विगत र वर्तमानको स्थिति खुलाएर सार्वजनिक गर्न ४ पृष्ठ लामो रायसहितको आयोगमा पठाउनुभएको हो ।

आयोगमा पठाइएको पत्रमा निजगढमा वस्ति विस्तार हुदाको बेलादेखि नै सो जमिन स्थानीयले गाईभैसी चराउने गौचरणको रुपमा प्रयोग गर्दै आएको र २०३७ सालमा सर्वे नापी हुदासमेत किसानको नाम, थर वतनको महलमा उक्त जमिन पर्ति गौचरण भनेर लेखिएको उल्लेख गरेको छ । हालको अवस्थामा पनि उक्त जमिनमा शव दाहसंस्कार स्थान, कृयापुत्री बस्ने घर, राजमार्गको डाइर्भशन र बाटो निर्माण गरेर निजगढबासीले सार्वजनिक रुपमा नै प्रयोग गर्दै आएको भनेर पत्रमा उल्लेख गरिएको छ ।

जमिन सार्वजनिक गर्नु पर्ने रायसहित नगरपालिकले आयोगमा पत्र पठाएपछि अब भने जग्गा पुन सार्वजनिक हुने आशा पलाएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ बताउनुहुन्छ । व्यक्तिको नाममा किर्ते दर्ता गरिएको जमिन सार्वजनिक गर्न निजगगढबासीले सडक आन्दोलनदेखि मालपोत कार्यालय बारामा उजुरी र जिल्ला अदालत बारामा मुद्दासमेत हालेको उहाले बताउनुभयो । दुषित दर्ता वदरको लागि तत्कालिन निजगढ गाविसको तर्फबाट मालपोत कार्यालयमा पटकपटक गरिएको आग्रहमा कार्यालयले कुनै सुनुवाई गरेको थिएन भने अदालतमा परेको मुद्दा पनि हालसम्म बिचाराधिन अवस्थामा रहेको सरोकार समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।

निजगढ सरोकार समितिकोतर्फबाट आफुले ६ महिनाअघि केन्द्रीय कार्यालय काठमाण्डौ पुगेर उजृुरी दिएपछि हाल आयोगले छानविन थालेको पनि श्रेष्ठले बताउनुभयो । निजगढ नगरपालिकका प्रमुख सुरेश खनालले पनि आफुहरु उक्त जग्गा दर्ता बदर गराउनेतर्फ लागेको भन्दै जतिसक्दो चाढो सार्वजनिक बनाइने बताउनुभएको छ ।

यसअघि ०४८ सालमा परेको उजुरीमा तत्कालिन भुमीसुधार तथा व्यवस्था मन्त्रालयबाट कारवाही अघि बढाउन भएको तोक आदेशपछि मालपोत कार्यालयबाट खटी आएका कर्मचारी समक्ष किर्ते दर्ता गर्ने मध्येका एक शेरबहादुर श्रेष्ठकोसमेत उपस्थितिमा स्थानीय जनप्रतिनिधि र ४÷५ भन्दा बढी सर्वसाधारणले सन्धीसर्पण भएकोले उक्त जग्गा सार्वजनिक गराउनु पर्ने व्यहोराको सर्जमिन मुचुल्कामा सहिछाप र बयानसमेत दिएका थिए । सो सर्जहमिनमा मुचुल्कामा किर्ते गर्ने भनिएका शेरबहादरले समेत सहिछाप गरेका छन ।

पुर्वपश्चिम राजमार्गसंग जोडिएको करोडौं मुल्य पर्ने सो जग्गा २०४३ मंसिरमा मालपोत कार्यालय बाराका कर्मचारीको मिलेमतोमा आधिकारिक लिखतबिना नै कित्ताकाट गरी हेटौडा निवासी शेरबहादुर श्रेष्ठ, भवानी देवी लम्साल र इन्द्रबहादुर बनेपालीले आफनो नाममा धनी पुर्जा बनाएका हुन । त्यसपछि उक्त जमिनमा पटकपटक कित्ताकाट हुदै हाल डेढ दर्जन भन्दा बढी व्यक्तिले धनीपुर्जा बनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here