सिमरा,बारा प्रहरीले दुई सय २५ किलो लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका ३ बाँतराका ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौडा उपमहानगरपालिका ४ का २१ वर्षीय कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका ४ देवतिसका २४ वर्षीय सिताराम प्रजा र मकवानपुरकै बकैया गाउँपालिका ५ छतिवनका २२ वर्षीय नवराज मगर रहेका छन् ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारागढीबाट ईन्सपेक्टर कुसुम नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रवार साँझ आदर्श कोतवाल गाउँपालिका ३ बाँतरास्थित एक खेत छेउमा पार्किङ गरिएको प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टर जाँच गर्दा लागूऔषध गाँजा बरामद भएको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ट्याक्टरको ढालामुनि फल्स बटनमा प्लास्टिकले बेरिएको अवस्थामा १५ वटा कार्टुनमा राखिएको दुई सय २५ किलो गाँजा बरामद भएको हो ।
चालक नन्दकिशोर मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य तीन जनाको संलग्नता खुलेपछि प्रहरी टोलीले कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।हाल बरामद गरिएको गाँजासहित ट्याक्टर र पक्राउ परेका चारैजना व्यक्ति जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका छन ।















