रौतहट,गोली चलाएर एकजनाको हत्या भएको घटनामा प्रहरीले गढिमाईबाट १६ जनालाई हिरासतमा लिएको छ ।शनिबार बाटो विस्तार गर्ने बिषयमा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिनुभएको छ ।घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका थिए ।सडक विस्तारका क्रममा झडप हुँदा गोली लागेर स्थानीय ५० वर्षीय यादवको मृत्यु भएको थियो ।घटनापछि अधिकांशले गाउँ छोडेको बताइएको छ ।मृतक यादवको शव परिवारले बुझ्न मानेका छैनन । उनको शव गौर अस्पतालमा राखिएको छ ।धोबिनिया टोलको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडाइ गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ ।बाटो विस्तार गर्ने क्रममा बाटो छेउका रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुबै पक्षले आआफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।

















