सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा नगर प्रमुख किशोरी साह कलवारले नव निर्वाचित जनप्रतिनिधिलाई बुधवार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
सिम्रौनगढका मेयर कलवारले उपप्रमुख नजमु सेहर र वडा अध्यक्ष तथा वडा सदस्यलाई पद तथा गोपनीयताको शपथसंगै पदभार ग्रहण गराउनुभएको हो ।
निर्वाचन अधिकृत मनोज कुमार गुप्ताको उपस्थितिमा भएको शपथग्रहण कार्यक्रममा मेयर कलवारले जनप्रतिनिधिहरुले दलगत स्वार्थ र आग्रहभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । जुनसुकै दलबाट चुनाव जितेको भएपनि विजयी भएपछि सबै जनताको हितमा काम गर्नु पर्ने उहाँको भनाइ थियो । उहाँले जनप्रतिनिधिहरु सबैको साँझा मान्छे भएको बताउदै निष्पक्ष र तटष्ट भएर काम गर्नु पर्नेमा जोड दिनुभयो । सो अवसरमा नगर प्रमुख कलवारले सिम्रौनगढ नगरपालिकामा कृषि मिटरको प्रयोग गर्ने किसानहरुको महसुल नगरपालिकाले भुक्तानी गर्ने समेत घोषणा गर्नु भएको छ ।
शपथग्रहण कार्यक्रममा नगरपालिकाकी उपमेयर नजमु सेहर, प्रमुख प्रशासकीय अधिकृत हरि ओम जयसवाल, लेखापाल सर्मेन्दकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।