निजगढ,नयाँ वर्षमा घुम्न आउनेहरुको भिडले निजगढको मोहोरी, शहिद हिरालाल पार्क र डम्बरपुरको शक्ति खोला क्षेत्रमा चहलपहल बढेको छ ।निजगढ वडा नम्बर ४ को मोहोरी तथा शहिद हिरालाल पार्क र वडा नम्बर १३ को शक्तिखोला क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको शुक्रवार चहलपहल बढेको हो ।निजगढकै प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको उक्त क्षेत्रमा निजगढ लगायत बाराको कलैया, जितपुरसिमरा, कोल्हबी, बरियारपुर, सिम्रौनगढ र वीरगन्ज, चन्द्रनिगाहापुर तथा भारतको रक्सौलसम्मबाट सर्वसाधारण घुम्न आउने गरेका छन । नया वर्ष २०८० को अवसरमा हिजो मोहोरी र सहिद पार्क क्षेत्रमा मात्रै करिव १ हजार जनाभन्दा बढी माानिसहरु आएको निजगढ ४ स्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमरलाल स्याङ्गतानले जानकारी दिनुभयो ।शुक्रवार निजगढमा आएका मध्ये अधिकांश विभिन्न विद्यालयका विद्यार्थीहरु भएको पनि उहाँले जानकारी दिनुभयो । हरियो वन जंगलमा घुमेर र बकैया खोलाको पानीमा पौडिखेलेर रमाउन चाहनेहरु शहिद पार्क र मोहोरीमा आउने गरेको उहाँले बताउनुभयो ।त्यसैगरी चुरेको फेदीमा रहेको पनि यो क्षेत्र बाहिरबाट घुम्न आउनेहरुको रोजाईमा परेको उहाँले बताउनुभयो । पछिल्लो समय निर्माण भइरहेको निजगढ काठमाण्डौं द्रुतमार्गको निर्माण कार्यको अवलोकन गर्न पनि धेरै मानिसहरु यस क्षेत्रमा आउने गरेका छन । निर्माणाधिन दु्रतमार्ग हुदै धेरै मानिसहरु सवारी साधनको प्रयोग गरेर मकवानपुरको बकैया गाउँपालिकाको छतिवन र श्रीपुरसम्म पुग्ने गरेका छन । फास्टट्याक निर्माणको क्रममा निर्माण कम्पनीले बकैया खोलाको किनारबाट बनाएको सर्भिस लेनको बाटो हुदै उनीहरु माथिल्लो भेगसम्म पुगेर फर्किने गरेका छन ।



















