कलैया,मधेसमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व मंगलबारदेखि सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म चल्ने छ ।

पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई बिसर्जन गरी पर्व समापन गरिन्छ । दश दिनसम्म दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । पर्वको पहिलो दिन मंगलबार बिहानै दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा डिलमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन् ।

सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् । दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइका दीर्घायुको कामना गर्ने गर्दछन् । ११औं दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

तराईको मिथिला क्षेत्रमा दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन् । मधेसमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here