कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट दुर्लभ पाटेबाघ नियन्त्रणमा लिइएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा विगत केही समयदेखि पाटेबाघ गाउँ प्रवेश गरेर आतंक मच्याउदै आएको थियो ।निकुञ्ज प्रशासन, चिकित्सक सहितको प्राविधिक टोली र नेपाली सेनाको लगातार ५ दिनको प्रयासपछि मंगलबार राती करिब १ बजे सो पाटे बाघ नियन्त्रणमा लिएको हो ।स्थानीय ओरीया खोला किनारमा रहेको पुलचोक सामुदायिक वनमा रहेको अवस्थामा प्राविधिक टोलीले डाट प्रहार गरेर पाटे बाघ नियन्त्रणमा लिन सफल भएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बुद्धलाल पाख्रिनले जानकारी दिनुभयो । बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुन्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका चिकित्सक सहितको प्राविधिकहरु, निकुन्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा सशस्त्र प्रहरीले ५ दिनदेखि बाघको लगातार निगरानी गरिरहेका थिए ।बाघ बसिरहेको क्षेत्र पत्ता लगाउन सफल भएपनि प्राविधिकहरुले मंगलबार राती मात्र बाघ नियन्त्रणमा लिन सफल भएका हुन्। बाघ नियन्त्रण गर्नकै लागि हात्ती सहित प्राविधिकहरु, पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी, नेपाली सेना र सशस्त्र प्रहरी तथा स्थानीयबासीहरु खटिएका थिए ।बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारमा राखिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।ठोरी–४ को कुसुमवाटिका उपभोक्ता समिति अन्तर्गतको विभिन्न क्षेत्रमा दुःख दिँदै आइरहेको सो बाघले गोठमा नै झम्टेर एक दर्जन भन्दा धेरै बाख्रा र एउटा भैंसीको पाडो नै मारेको थियो । बाघकै कारण रात परेपछि स्थानीयहरु घरबाहिर निस्कन समेत डराउनुपर्ने अवस्थाले वस्ती नै त्रसित थियो ।


















