निजगढ,केही दिनयता बढेको गर्मी कम नभएपछि निजगढ नगरपालिकाका अधिकांश विद्यालयहरुले सोमवारबाट बिहानी कक्षा संचालन गरेका छन ।निजगढ ८ को गौरीशंकर मावि, निजगढ ५ को सार्वजनिक मावि र निजगढ ६ सडकटोलको गौरीशंकर मावि लगायत नगरका विद्यालयहरुमा बिहानी कक्षा संचालन भएको हो ।गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झाले गर्मी कम नभएपछि बिहान ६ बजेदेखि १०.३० सम्म कक्षा संचालन गरिएको जानकारी दिनुभयो ।नगरभित्रका विद्यालयमा यसअघि पटकपटक गरी १० दिनसम्म दिएको बिदाको अवधिमा पनि गर्मी नघटेपछि विद्यालयहरुमा बिहानी कक्षा संचालन गर्न थालिएको हो । नगरपालिकाले पहिलो पटक जेष्ठ १८ र १९, दोस्रो पटक २३ गते र तेस्रो पटकमा गत शुक्रवारसम्मको लागि नगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गर्न सूचना गरेको थियो । नगरपालिकाकाले बर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गराएको थियो ।


















