नेपालका धेरैजसो भागका वन–जंगलमा केही महिनायता डडेलो लाग्ने क्रम बढेको छ । हिउँदको समयमा डढेलोको जोखिम बढी हुने गर्छ । डडेलो लाग्नुका पछाडि मानिसकै मुख्य हात हुने गर्छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रूप दिनका लागि सरकारी स्तरबाट भए÷गरेका प्रयासहरू प्रभावकारी बन्न नसक्दा डडेलोको घटना दिन प्रतिदिन बढ्दै गएको छ । डडेलो लाग्नुको मुख्य कारण नागरिकमा देखिएको जनचेतनाको कमी नै हो । वन–जंगल जोगाउन, संरक्षण गर्नका लागि उपभोक्ता समिति र विभिन्न संघ–संस्था खोलिएका छन् ।

डडेलो मानवबाट सिर्जित हुने समस्या हो । डडेलो रोक्नका लागि मु्ख्य भूमिका वन–जंगल आसपासमा बसोबास गर्ने बासिन्दाकै हु्न्छ । एउटा झिल्कोले संसार सखाप पार्न सक्छ भने झैं मानवीय त्रुटिका कारण लाग्ने डढेलोबाट धेरै धन–जनको क्षति हुने गरेको छ । यस वर्ष पनि देशका विभिन्न वन–जंगलमा लागेको डडेलोका कारण राज्यलाई ठूलो क्षति पुगेको छ । विशेष गरी डडेलोबाट वन्यजन्तु बढी मारमा पर्ने गरेका छन् । वन–जंगलमा रुख–बिरुवा नाश हुनुको साथै वन्यजन्तुकै अस्तित्वसमेत संकटमा पर्दै आएको छ ।

अहिले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नै विभिन्न व्यक्ति वा समूहले आगो लगाउने क्रम बढेको छ । वन्यजन्तुले दुःख दिएको भन्दै स्थानीयले लुकीछिपी डडेलो लगाउने गरेको पनि पाइन्छ । ठूलो क्षेत्रमा एकैपटक आगलागी हुँदा निभाउन पनि सहज हुने अवस्था छैन । जंगलभित्र सबै ठाउँमा सडकको पहुँच नहुँदा डढेलो नियन्त्रणका लागि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here