निजगढ,बैशाख १० गते बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतार्ने भएको छ । उपनिर्वाचनमा विभिन्न राजनीतिक दलहरुले ‘हेबी वेट’ उम्मेदवारहरुलाई अघि सारेपछि एमालेले पनि जिल्लाका लोकप्रिय नेता पौडेललाई अघि सार्ने तयारी गरेको हो ।नेकपा एमालेलेको सोमवार बस्ने सचिवालय बैठकले पौडेललाई बारा २ बाट उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ । बारा जिल्ला कमिटीले भने शुक्रवार पौडेलसहित तीन जना शंभावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको हो । साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन् ।जसपाले सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट चुनाव लड्ने निश्चित भएसंगै एमालेले पनि हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न थालेको हो । अध्यक्ष यादवलाई चुनाव लडाउने तयारी गरेपछि एमाले कार्यकर्तावृत्तमा पनि हेबी वेट उम्मेदवारको खोजी हुन थालेको थियो । ‘अन्य दलले हेबी वेट उम्मेदवर खडा गर्न लागेकोले एमालेले पनि त्यस्तै उम्मेदवारलाई अघि सार्नुपर्छ, एमाले जिल्ला कमिटीबाट उम्मेदवारको रुपमा सिफारिसमा पर्नुभएका राजेश साहले भन्नुभयो, पौडेल उम्मेदवार बनेको अवस्थामा एमालेको जित निश्चित जस्तै छ ।’ जिल्लामा मधेसी समुदायमा समेत लोकप्रिय रहेकोले विपक्षी उम्मेदवारहरुलाई टक्कर दिएर निर्वाचन जित्नसक्ने उम्मेदवार पौडेलमात्रै भएको साहको भनाइ छ ।स्पष्ट वक्ता, हकी स्वाभाव, स्वच्छ छवि र कार्यकर्ता तथा जनताबीच राम्रो सम्बन्धका कारण पौडेल जिल्लामा लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । पौडेलले ०५४ सालमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । त्यतिबेला क्षेत्र नम्बर ३ मा रहेको देवताल लगायत केही पालिका हाल क्षेत्र नम्बर २ मा परेकोले पनि पौडेललाई सहज हुने विश्लेषण छ । ‘उहाँको पुरानो क्षेत्रका मतदाता पनि पर्छन, एमालेका अर्का नेता मनोज पौडेलले भन्नुभयो, पुराना र नयाँ मतदातामा पनि पौडेलको छवि राम्रो छ ।’ पौडेल २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएयता चुनाव लड्नुभएको छैन । उहाँ स्वं. सुशिल कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री समेत बन्नुभएको थियो ।पछिल्लो दुई निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहेका पौडेलले टिकट पाउनुभएन । उहाँ आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनालीले उम्मेदवार बन्नुभयो । २०७४ सालमा पराजय व्यहोर्नुभएका मैनाली यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।जिल्लामा एमालेको लागि अपेक्षाकृत कमजोर क्षेत्रको रुपमा हेरिएको उक्त क्षेत्रमा यसअघि रामसहाय यादवले चुनाव जित्नुभएको थियो । एमालेसंगको तालमेलमा विजयी हुनुभएका यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।यसैगरी लोसपाबाट राजेन्द्र महतोको नाम चर्चामा छ । लोसपाले महतोलाई बारा २ बाट उम्मेदवार बनाउने आन्तरिक तयारी गरिरहेको छ । महतो सर्लाही २ बाट पराजित हुनुभएको थियो ।यसैगरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ । नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसंग पराजित हुनुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लाग्नुभएको हो ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने तयारीमा हुुनुुहुन्छ । काठमाडौं १ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो । खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार हुुनुहुन्थ्यो ।



















