सिमरा,‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ ।पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्नपुग्यो ।पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअलनानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोल पोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए ।पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्सभित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए ।दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ संगको भेट पक्का गरे । हिमालयन शेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोल रक्षक निशान्त थापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।प्रतियोगिताको दोश्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ ।खेलको १२ औं मिनटमा सातदोबाटोका सुशिललामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डिबक्स भित्रदिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।
२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्सभित्र दिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशा लिन सकेन ।खेलको ७४ औं मिनटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टर लाईनबाट बलअघि बढाएका निरजले खाली पोष्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।खेलको पाँचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रस बारबाट बाहिरीयो । डिबक्सभित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।खेलको आठौं मिनटमा निशान लिम्बुको प्रहार गोल पोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए ।खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोल रक्षकले बचाउ गरे ।खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको सशक्त प्रहार सातदोबाटोका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोल रक्षक निशान थापामगरले पन्च गरेर जोगाए ।खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे ।प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्नेछ ।



















