सिमरा,बाराको सिमरास्थित सिमरा विमानस्थल सात दशकअघि सञ्चालनमा आएको भए पनि पूर्वाधार सुधारको अभावमा निजी विमान कम्पनीहरूले क्रमशः उडान सेवा बन्द गर्न थालेका छन् ।छोटो रनवे र एकतर्फी उडान÷अवतरणको जोखिमका कारण यती, श्री र गुण एयरलाइन्सले सिमरा–काठमाडौँ उडान सेवा बन्द गरेका छन् । यद्यपि, बुद्ध एयरले भने दैनिक पाँच उडानमार्फत सेवा निरन्तर दिइरहेको छ ।

सिमरा विमानस्थलको रनवे लम्बाइ पर्याप्त नहुनु र एकतर्फी उडान-अवतरणको बाध्यताले विमान कम्पनीहरूलाई जोखिम र लागत बढाएको छ ।“फुलफेजमा एटिआर ७२ सञ्चालन गर्न करिब ३०० मिटर रनवे अपुग छ । एकतर्फी उडान हुँदा हावाको दिशा र गतिको जोखिमले उडान असुरक्षित हुने र सञ्चालन लागत पनि बढ्ने भएकाले सेवा बन्द गर्नुपरेको हो,” यती एयरलाइन्सका सिमरा प्रमुख दामोदर तिवारीले भन्नुभयो ।

यति एयरलाइन्सले गत चैतदेखि सिमराबाट काठमाडौँका लागि दैनिक दुई उडान सञ्चालन गर्दै आएको थियो । साथै, भारतीय पर्यटकलाई लक्षित गरी पर्वतीय उडान (माउन्टेन फ्लाइट) पनि सञ्चालन गरेको थियो । तर, पूर्वाधार सुधारमा प्रगति नहुँदा सेवाहरू बन्द भएका छन् । श्री र गुण एयरलाइन्सले पनि यही कारणले सिमराबाट उडान स्थगित गरेका छन् ।
निजी विमान कम्पनीहरूले उडान बन्द गरे पनि बुद्ध एयरले भने सिमरा–काठमाडौँ रुटमा दैनिक पाँच उडान सञ्चालन गरिरहेको छ । बिहान ८ः४५ देखि साँझ ६ः२० सम्ममा पाँच उडानहरू सञ्चालन हुन्छन् । बुद्ध एयरले साना र सुरक्षित विमानहरू प्रयोग गरी रुटमा निरन्तरता दिएको छ । कम्पनीका प्रतिनिधिका अनुसार उनीहरूले रनवे र मौसमी जोखिमलाई व्यवस्थापन गर्दै सेवा दिइरहेका छन् ।

सिमरा विमानस्थल वीरगञ्जको औद्योगिक क्षेत्र, भारतीय पर्यटक र व्यापारिक सम्भावनाका कारण रणनीतिक महत्वको विमानस्थल मानिन्छ । भारतसँगको नजिकको सिमाना र वीरगञ्जको व्यापारिक गतिविधिले विमानस्थललाई थप महत्त्वपूर्ण बनाएको छ । तर, रनवे विस्तार र अन्य पूर्वाधार सुधारमा सरकारी तहबाट ध्यान नदिइँदा निजी क्षेत्रलाई चुनौती थपिएको छ ।विमानस्थलको रनवे हाल १,१९० मिटर लामो छ, जुन ठूला र आधुनिक विमान सञ्चालनका लागि अपर्याप्त मानिन्छ । विमान कम्पनीहरूले कम्तीमा १,५०० मिटर लामो रनवे आवश्यक रहेको बताउँदै आएका छन् । साथै, एकतर्फी उडान÷अवतरणका कारण हावाको गति र दिशाले उडान तालिकामा समेत असर परिरहेको छ ।

सिमरा विमानस्थलको स्तरोन्नतिका लागि स्थानीय व्यवसायी, उद्योगी र नागरिक समाजले लामो समयदेखि माग गर्दै आएका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएएन) र सरकारले ठोस योजना अघि सारेको छैन । होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार सिमरा विमानस्थलको सुधारले औद्योगिक र पर्यटकीय विकासमा ठूलो योगदान पुग्छ । तर, सरकारी बेवास्ताले सम्भावना कमजोर बन्दै गएको उहाँको गुनासो छ ।सिमरा विमानस्थलको पूर्वाधार सुधारमा तत्काल ध्यान नदिए निजी विमान कम्पनीहरूको उडान बन्द हुने क्रम बढ्न सक्ने भन्दै स्थानीय व्यवसायी र सर्वसाधारणले चिन्ता व्यक्त गरेकाछन ।

Leave a Reply