कहिले कसैको त कहिले कसैको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारले अझै पूर्णता नपाउँदा सरकारको दैनिक काम कारबाहीमा बाधा उत्पन्न भएको छ । गृहमन्त्रालय सहित महत्वपूर्ण मंन्त्रालय बिगत करिब एक महिनादेखि नै मन्त्री बिहिन भएका छन् । हुन त मन्त्रालय मन्त्री बिहिन हुनुमा प्रचण्डको आफ्नै खालको तर्क पनि होला तर त्यो तर्कले मुलुकको हितका लागि काम गर्दैन ।लामो समय मन्त्री नहुँदा मन्त्रालयहरुमा पनि बेतिथि बढ्ने निश्चित छ । प्रधानमन्त्री बनेका प्रचण्डले दोश्रो पटक विश्वासको मत लिएर उनले विश्वास पनि पाइसकेको अवस्थामा अब मन्त्री परिषदलाई पूर्णता दिन बिलम्ब गर्न हुन्न । आफ्नो स्वार्थका लागि भन्दा पनि देशको हितका लागि पनि सत्ता साझेदार अन्य दलले बिचार गर्दै मन्त्री परिषद विस्तारमा सहयोग गर्नु पर्दछ ।नत्र फेरि यही बिषय पेचिलो बन्दै जानेछ र सत्ताको स्वार्थमा नै राजनीतिक दलहरु अल्झने छन् । अब प्रचण्डको पहिलो काम नै यही हुनु पर्दछ र यसका लागि लामो समय बिताउन हुदैन । जति बिलम्ब गर्यो उति देशका लागि घाटा हुने हुँदा सत्ताका लागि दलहरुमा स्वार्थ नभइ देशको हितका लागि अनय दलले पनि सघाउनु पर्दछ ।













