राजकुमार यादव
मौलापुर,रौतहट जिल्लाको वृन्दावन नगरपालिका र गरुडा नगरपालिकामा सूचनाको माग गर्दै आन्दोलन सुरु भएको छ ।वृन्दावन नगरपालिकामा मांग गरे अनुसारको सूचना पाउनुपर्ने भन्दै स्थानीय नेता एवंम गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका उम्मेदवार रामस्नेही यादवलगायत जनप्रतिनिधिहरुले रिले अनसन शुरु गरेका हुन । नगर प्रमुख विनोद पटेल कुर्मीले थोरै समयमा धेरै भ्रष्टाचार गरेको अनसनमा रहेको नेताले आरोप समेत लगाएका छन । नगर प्रमुख पदका प्रत्यासी यादव र केही निर्वाचित वडाका अध्यक्षहरु समेत संयुक्तरुपमा रिले अनसन बसेका हुन ।विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिएर भ्रष्टाचार गरेको आरोप लगाउदै नगर प्रमुख प्रत्यासी तथा नेपाली कांग्रेसका नेता रामस्नेही यादव, नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेमशंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकप माओवादी केन्द्रका नेता रामप्रसाद पटेल, नगर प्रमुखका अर्का प्रत्यासी तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव रिले अनसन बसेका हुन ।त्यस्तै वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र पटेल, वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह, वडा नम्बर ४ का अध्यक्ष श्यामनन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु पनि रिले अनसनमा छन ।नगर प्रमुख पटेलले चैत्र ६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले होहल्ला गर्न थालेपछि बैठक स्थगित भएको थियो । बैठकस्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख विनोद पटेललाई सुरक्षित घर पु¥याउन प्रहरीले बल प्रयोग गर्नु परेको थियो । नगर प्रमुख पटेलले कार्यपालिका बैठकमा झेल्नु परेका समस्यालाई उद्धित गर्दै प्रेस विज्ञप्ति निकाल्न र सो बारेको सूचना दिन इन्कार गरेपछि विपक्षीहरु सूचना माग गर्दै अनसनमा बसेका हुन ।पूर्वनगर प्रमुख राम स्नेही यादवलगायतले संयुक्तरुपमा निवेदन दिएर कार्यालयबाट १७ वुँदे सूचना माग गरेका थिए । माग बमोजिमको सूचना नपाएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन । उता रौतहटकै गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी दीपक यादवले १२ सूत्रीय माग राखेर चार दिनअघि सुरु गरेको आमरण अनसन बुधवार पनि जारी राख्नुभएको छ ।नगरपालिकाका मेयर कन्थमणी कलवार र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले मंगलबार उहाँलाई भेटेर माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि यादवले अनशन जारी राख्नुभएको हो । यादवले स्थानीय निर्वाचनपछि नगरपालिकाबाट शिक्षा क्षेत्रमा भएको खर्च तथा उपलब्धि, बिजुली बत्ती, इन्टरनेट जडानमा भएको खर्च तथा अहिलेको अवस्था, स्वास्थ्य क्षेत्रमा भएको खर्च विवरण, करार कर्मचारीको नियुक्ति पत्र तथा हाजिरीको प्रतिलिपि माग गर्दै अनशन थाल्नुभएको हो । उहाँकै माग बमोजिम मंगलबार बसेको कार्यपालिका बैठकले चैत ३० गते सार्वजनिक सुनवाइ गरिने र सूचनाको हक सम्बन्धी सम्पूर्ण माग क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाए पनि यादवले अनशन जारी राख्नुभएको हो ।यसअघि सोमबार पत्रकार सम्मेलन गरी गरुडा नगरपालिकाका मेयर कलवारले स्थानीय निर्वाचनको परिणाम आएकै दिनदेखि नै विकास निर्माण लगायतको कार्यमा विपक्षीहरुले असहयोग गर्दै आएको बताउनुभएको थियो ।


















