हाम्रो देशको कानुन अनुसार प्रधानमन्त्री भनेको कार्यकारी अधिकार सम्पन्न राष्ट्र प्रमुख हो ।त्यसो त प्रधानमन्त्रीमाथि एउटा पद नेपालमा छ राष्ट्रपति तर यो पद कार्यकारी नभएर आलाङ्गकारिक मात्रै हो । नेपालको संविधानले संसदीय प्रणालीलाई अङ्गिकार गरेको हुनाले यो व्यवस्थामा प्रधानमन्त्रीको हातमा नै सम्पूर्ण कार्यकारी अधिकारी हुन्छ । संसदीय व्यवस्था भएको देशमा प्रधानमन्त्रीको पदलाई अत्यन्त गरीमामय पदको रुपमा लिइन्छ ।तर, नेपालको कुरा गर्ने हो भने यो पदमा रहेका र पुगेका केही व्यक्तिहरुले यो पद मर्यादा राख्न सकेको पाइदैन र पदको हेक्का नराख्दा उनीहरुको त बेइज्जत भएको छ नै बेलाबेलामा देशको गरीमामासमेत आँच आउने गरेको छ ।अहिले नेपालका प्रधानमन्त्री रहेका पुष्पमकमल दाहालले हालै एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन एकजना भारतीय व्यवसायीले पटकपटक नयाँदिल्ली धाएको भन्ने भनाइ सार्वजनिक गरेका थिए । प्रधानमन्त्रीको यो टिप्पणीको देशभरि नै आलोचना पनि भयो । सोही अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानामन्त्रीको राजिनामा माग गर्दै संसद अवरुद्ध पारेपछि उनले सोमवार संसदमा स्पष्टिकरण नै दिनुपर्यो । प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिबारे सोमवार प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भावनामा आएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीका रूपमा नभनेको भए ठिक हुने पनि बताउनुभयो । उहाँले आफ्नो भनाइबाट परेको असहजताप्रति क्षमा माग्दै आफ्नो मनसाय खराब नभएको बताउनुभयो ।प्रधानमन्त्रीले बोलेको कुराले सदन नै अवरुद्ध भएपछि उनी सदनमा बोल्न पनि बाध्य भएका हुन ।सोमवार संसदमा उनले आफुले सो कुरा नभनेको भए पनि हुने थियो भन्ने तर्क पनि गरेका छन । तर उनको यो तर्क हलुका र केटाकेटी मात्रै होइन हास्यास्पद पनि छ । र यो त्यति सजिलै क्षम्य पनि हुने विषय होइन । देशको कार्यकारी पदमा रहेको व्यक्तिको यस्तो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र आत्मासम्मानमा अवश्य नै ठुलो आँच पुर्याएको छ ।

 

Leave a Reply