गोकुल घोरसाइने
निजगढ – भोटेकोशी बाढी पीडित परिवारको लागि बाराको निजगढस्थित विभिन्न संघसंस्था र समाजसेवी दाताहरुले मन फुकाएर सहयोग गरेको पाइएको छ । यहाँस्थित निजी विद्यालय, सहकारी संस्था र विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने क्रम जारी रहेको छ । पछिल्लो पटक आज बाढीपहिरोबाट प्रभावित परिवारका लागि निजगढ– ७ स्थित निजगढ विद्यासागर इङ्गलिस बोडिङ्ग स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विद्यालयको तर्फबाट उक्त रकम प्रदान गरिएको विद्यासागर स्कुल सञ्चालक अध्यक्ष भोलाप्रसाद गौतमले जानकारी दिनुभयो । विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको उहाँको भनाइ छ ।
त्यस्तै निजगढ ७ स्थित सगरमाथा सहकारी संस्थाले पनि बाढी प्रभावितका लागि २५ हजार ६ सय पच्चीस रुपैयाँ र निजगढ ७ कै जनज्योति सामुदायिक वन समूहले पनि २१ हजार रुपैया सहयोग गरेको छ ।
रसुवा, धादिङ, गोरखा र तनहुँमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि सहकारीले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ६ सय पच्चिस रुपैयाँ सहयोग गरेको हो । बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहकारीको तर्फबाट उक्त रकम प्रदान गरिएको अध्यक्ष रुद्रप्रसाद धितालले जानकारी दिनुभयो ।
विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको वन समूहका अध्यक्ष खडगप्रसाद मोक्तानले बताउनुभयो । निजगढ ५ स्थित सार्वजनिक माविका छात्रछात्राहरुले पनि आफ्नो खाजा खर्च बापतको रकम कटाएर ३ हजार ५२० रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो ।
यसअघि बुधवार निजगढ राइडर्स क्लबले बाढी प्रभावितहरुका लागि २३ हजार १६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको क्लबका एक सदस्य नेत्र कार्कीले बताउनुभयो । त्यस्तै निजगढ ६ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सडकटोल, निजगढ ३ माथिल्लो सिमलचौर स्वास्थ्य आमा समूह, मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढलगायत विभिन्न संस्था र दाताहरुले बाढी पीडितलाई आर्थिक सहयोग गरेका थिए ।
बाढीपहिरोबाट प्रभावित परिवारमा राहत, उद्धार र पुर्नस्थापनाको लागि श्रीकृष्ण प्रणामी मन्दिरले ५१ हजार रुपैया सहयोग गरेको भने निजगढकै मेचीमहाकाली संयुक्त बुहारी आवाजले पनि प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैया सहयोग गरेको संस्थाकी अध्यक्ष चन्द्रिका पुलामी मगरले जानकारी दिनुभयो । आर्थिक सहयोगसंगै बाढीबाट ज्यान गुमाएका मृतआत्माको चिरशान्तिको कामना गर्दै मन्दिर परिसरमा १०८ दीप प्रज्वलन समेत गरिएको मन्दिर संचालक समितिका सचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी निजगढ ३ स्थित माथिल्लो सिमल चौरका महिलाहरुको आमा समूहले पनि बाढी पीडितको लागि १५ हजार रुपैया सहयोग गरेको छ । सो समूहले यस वर्षको तीज पर्वको सामूहिक दर खाने कार्यक्रम स्थगित गरेर त्यसबाट जोगिएको १५ हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समूहकी सदस्य सुनिता सापकोटाले जानकारी दिनुभयो ।
यसअघि रसुवा बाढी पीडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा निजगढ ९ का समाजसेवी एंव होली एन्जल्स इङ्गलिस बोडिङ्ग स्कुलका संस्थापक नारायणप्रसाद उप्रेतीले बाढी पीडितको राहत, उद्धार र व्यवस्थापनको लागि विद्यालयको तर्फबाट १ लाख ५ हजार, निजगढ ९ का युवा समाजसेवी मणिश्वर घिमिरे नेतृत्वको जी टेन समूहले ६६ हजार ७२५ रुपैया, निजगढ ८ का व्यवसायी गोपालकाजी श्रेष्ठले ५५ हजार र निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश खनालले पनि २५ हजार आर्थिक सहयोग गर्नुभएको थियो । त्यसैगरी लायन्स क्लब अफ निजगढ युथले ४७ हजार २६६ रुपैया र लायन्स क्लब अफ निजगढ सिटीले पनि २५ हजार रुपैया राहत कोषमा जम्मा गरेको लायन्स क्लब अफ निजगढ युथका चार्टर प्रेसिडेन्ट इराज कोइरालाले जानकारी दिनुुभएको छ ।
















