दुष्यन्त चौधरी
बारा,महशुल नतिरेपछि नेपाल विद्युत प्रधिकरण कलैयाले थारू कल्याणकारीणी सभा ( थाकस) बाराको कलैयास्थित कार्यालयमा विद्युत लाइन काटेको २ वर्ष भइसकेको छ । तर महशुल तिरर विद्युत सुचारु गर्न थाकस जिल्ला कार्यसमितिका पदाधिकारीले कुनै चासो देखाएका छैनन ।
विद्युत महशुल नतिरेपछि कार्यालय भवनको विजुलीको लाईन २ वर्षअघि नै काटेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले २०७७ चैत्र ५ गतेबाट नै लाईन काटेको तथ्यांक देखिन्छ । विद्युत प्राधिकरण कलैया शाखाले अनलाइन बिलिङ्ग सुचारु गर्नु अघिदेखि कार्यालयले बिजुलीको महसुल नतिरेको एक कर्मचारीले जानकारी दिएका छन । थाकसले एक दशकभन्दा पहिले देखिको महशुल नतिरेकोले बिजुलीको लाइन काटनु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका एक कर्मचारीका अनुसार दुई वर्षदेखि लाइन काटिएको भए पनि जडान गर्न भनेर हालसम्म कोही पनि सम्पर्कमा नआएको बताए । ‘लाइन काटिएको छ, तर जडान गर्न भनेर कसैले पनि चासो देखाएका छैनन ।’ लाइन सुचारु गर्न कसैलाई पनि चासो र चिन्ता पाइएन उनले बताए ।
वर्षौअघि थाकस भवनमा जडान भएको लाइन काटिए पनि लाइन जडान गरेर विजुली सुचारु गर्नेतर्फ जिल्ला कार्यसमितिका पदाधिकारीहरूले कुनै चासो नदेखाएको भन्दै जिल्लाका थारु अगुवाहरुले चिन्ता जनाएका छन । उनीहरुले थाकस बाराको कार्यसमितिले थारू कल्याणकारीणी सभालाई ऋण बोकाएको आरोप पनि लगाएका छन ।
कार्यालयले विद्युत प्राधिकरणलाई एक लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले दिएको जानकारी अनुसार थाकसले मशुल बापत एक लाख २ हजार ५ सय ९७ रुपैया र पैसा ८५ तिर्नुपर्ने छ ।
थारु कल्याणकारीणी सभा (थाकस) बाराका पदाधिकारीहरूको गलत रवैयाका कारण जिल्लाका थारु समुदायका अगुवाहरुले कार्यालयस भवनमा तालाबन्दी गरेका छन् । थाकस बाराका सभापती रामप्रसाद चौधरी, सचिव यादवकृष्ण चौधरी तथा कोषाध्यक्ष बासु चौधरीको कारण थाकस बाराको भवनमा ताल्चा लागेको हो ।
थाकसले बारामा थारु छात्राबासको लागि भन्दै निमार्ण गरेको भवनको कोठा गैह्छात्रालाई उपभोग गर्न दिइएको, भाडामा लगाइएको भनिएको कोठाको बहाल बापतको रकम कसैले पनि नतिरेको कार्यालयमा तालाबन्दी गर्ने थारु अगुवाहरुले बताएका छन । घर भाडाको बहाल बापत प्राप्त हुने रकम हिनामिना गरेर विद्युत महसुल नतिरेको र प्राधिकरणले पनि लाईन काटेको हुनसक्ने जिल्लाका थारू अगुवा लक्ष्मीप्रसाद चौधरीले सुनाउनुभयो ।
थाकसका पदाधिकारीहरु राजनीतिक रुपमा नेपाली काँग्रेस पार्टीका सहमहामन्त्री तथा खानेपानीमन्त्री उमाकान्त चौधरी निकट मानिन्छन । मन्त्री चौधरीकै इसारामा थाकस पदाधिकारी तथा सदस्य चयन हुदै आएको छ । थाकस बारा केही व्यक्तिहरुको राजनीतिक गर्ने अखडाको रुपमा रहेको र मनोमानी तरिकाले संस्था चलाएकाले कार्यालयको हाल दुर्दसा भएको पनि बताइएको छ ।
थाकसका अध्यक्ष चौधरी शिक्षक पेसामा हुुनुहुन्छ भने सचिव कलैयामा व्यापार गरेर बस्दै आउनुभएको छ । त्यसैगरी कोषाध्यक्ष चौधरी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कोल्हवी नगरपालिक वडा नम्बर ५ को वडा अध्यक्षमा पराजित हुनुभएको थियो ।

















