निजगढ, साउन, ६– दुई दिनदेखिको अविरल वर्षाका कारण बकैया नदीमा आएको बाढीले तामागढी–रतनपुर सडकको करिव २ सय मिटर क्षेत्र बगाएको छ । निजगढ नगरपालिका वडा नम्बर १० स्थित नागमणी सामुदायिक वन समुहको वन क्षेत्रमा पर्ने सडक बाढीले बगाएको हो ।
नदीको मुल धार सडकमा ठोक्किएपछि कटानमा परेर सडक बगरमा परिणत भएको छ । सडक बगेपछि उक्त सडक भएर आवतजावत गर्ने यात्रुहरुले नेपाली सेनाले निर्माण गरेको द्रुत मार्गको प्रयोग गर्न बाध्य भएका छन । त्यसैगरी लाल खोलमा आएको बाढी पसेर लाल बस पार्क नजिकबाट हालै कालोपत्रे गरिएको सोही सडक खण्डको करिव ५ सय मिटर क्षेत्र जलमय भएको छ । लाल खोलाको बाढीले हाल जंगलतर्फ कटान तिव्र पारेकाले उक्त क्षेत्रको सडकमा पनि जोखिम बढेको स्थानीयले बताएका छन । त्यसैगरी अवविरल बर्षाका कारण साविक रतनपुर गाविस हाल निजगढ नगरपालिका वडा नम्बर १२ को गडवान, बुङ्गजोर, चिसापानी, खयर खोला, वडा नम्बर १३ को भालु र शक्ति खोला, वडा नम्बर ११ मा पसाहा र १० को भालु खोलामा आएको बाढीले स्थानीय किसानको ८ बिगाहा भन्दा बढी क्षेत्रमा लगाइएको धान र मकै बाली नष्ट पारेको नगरपालिकाका सुचना अधिकृत नविन खनालले जानकारी दिनुभयो ।
बकैया खोलाले निजगढ वडा नम्बर ४ को मोहोरी, वडा नम्बर ९ को आर्यघाटको तटबन्दमा क्षेति पुर्याएको छ । वडा नम्बर ४ कै कछडिया टोल नजिक नगरपालिकाले हालै बनाएको च्यानलाइज ड्याममा पनि बाढीले आंशिक क्षेति गरेको छ । सुचना अधिकारी खनालले भमरा खोलाको बाढीले वडा नम्बर ५, ६, ७ र ९ नम्बरको विभिन्न स्थानमा कटान गरेको बताउनुभयो । त्यसैगरी साविक भरतगंजसिगौलमा पनि बगरे र धन्सार खोलाको बाढीले कटान र डुवानको समस्या उत्पन्न गरेको छ । निजगढ नगरपालिका वडा नं २ मा स्थानीय गोकर्ण थापा, सुरेश राई, नेप्टे राई, टुम्ले राई, भानु राई र केनाम राईको घर डुबानमा परेको छ । घर भित्र पानि पसेपछि भाँडाकुडा लगायतका सरसामान र कुखुरा समेत बगाएको छ । सुचना अधिकारि खनालले सिगौलको धन्सार र बगरे खोला बाढीले पुरानो तटबन्ध भत्काएपछि वस्तिमा बाढी पस्ने खतरा बढेको बताउनुभयो ।
नगरका विभिन्न वडामा बाढीको जोखिम बढेपछि निजगढ नगरपालिका विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले बाढी नियन्त्रण र रोकथामको लागि डिभिजन वन कार्यालय सिमरा, जिल्ला प्रशासन कार्यालय, प्रदेश र संघिय सरकारसंग सहयोग माग गर्ने निर्णय गरेको छ । नगरपालिका प्रमुख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकले प्रकोप नियन्त्रणको लागि विपद व्यवस्थापन कोषबाट रकम खर्च गर्नका लागि नगर कार्यपालिकामा सिफारिस गर्नेसमेत निर्णय गरेको छ । बाढीको जोखिम बढेको र नियन्त्रणको लागि नगरपालिकाको स्रोतलेमात्रै धान्न नसक्ने भएकोले अन्य निकायसंग पनि सहयोगको लागि माग गरिएको नगरापलिका प्रमुख सुरेश खनालले बताउनुभयो ।