अहिले मुलुकमा तीन तहको सरकार छ। विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै नेपालमा पनि त्रास बढेको छ। संसद्मा सांसदहरू यसप्रति निरपेक्ष देखिन्छन्, समस्या नै नभएसरह व्यवहार गरिरहेका छन्। सरकारले डराउनु पर्दैन केही हुँदैन भन्दै आएको छ।जनताको अभिभावक पनि भएका नाताले उसले यस प्रकारको ढाडस दिनु स्वाभाविक पनि छ।
तर, जनता प्रमाण खोजिरहेका छन् नडराउनका लागि। सरकारले जनतालाई कोरोना भाइरस लागिहाल्यो भने कसरी सघाउँछ भनेर हेर्ने हो भने निराशा मात्र हात लाग्छ। केही अस्पतालमा कोठा र बेड छुट्याएर कोरोना भाइरससँग डराउनु पर्दैन भनी सरकारले ढाडस दिएको हो भने यो हास्य विषय मात्र ठहर्नेछ।कोरोना भाइरसका विषयमा बैठक र छलफल नभएका होइनन्। तर, अपक्षाकृतरूपमा कामलाई व्यवहारमा उतार्न सकिएको देखिँदैन। सीमानाका र हवाई उडानमा सरकारले उच्च सतर्कता अपनाउनुपर्ने हो, तर त्यस्तो देखिन्न। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक त्रासपूर्ण जीवन बाँच्न बाध्य छन्। कोरोना भाइरस कहाँ कति बेला र कुन ठाउँमा फैलिन्छ भन्न सकिन्न।
अहिले नेपालमा कोरोना भाइरसको महामारी छैन, यो सुखद विषय हो। तर, जति बेला पनि फैलिन सक्ने सम्भावनालाई सरकारले बिर्सिरहेको देखिन्छ। रोग लाग्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेझैं अहिलेसम्म नेपालमा नदेखिएको कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जुन गतिको साथ सावधानीको उपाय अपनाउनुपर्ने थियो, त्यो भने हुन सकिरहेको छैन।बारा र पर्सा पनि उच्च जोखिममा रहेका छन् । खुला सिमा भएकाले पनि हो । त्यसैले यस्तो बिषयमा जनप्रतिनिधिहरु सचेत बन्न आवश्यक छ ।