कलैया,चैत महिनाभित्रै किसानले चैते धान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा बारा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ– १, चैते– १, चैते– २, चैते– ४ जातको धान रोपेका छन् भने दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष बाराका किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।


















