वीरगञ्ज,पछिल्लो समय वीरगञ्जमा जारी निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले बिहीवार एउटा सूचना जारी गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार वीरगञ्ज महानगरपालिकाभित्र पर्ने पूर्व, बाईपास रोड, पश्चिम, सिर्सिया खोला पुल, उत्तर, गण्डक चौक र दक्षिण, शंकराचार्य गेट क्षेत्रभित्र लागू गरिएको निषेधाज्ञा शुक्रवार बिहान ७ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।जिल्ला सुरक्षा समितिको मिति २०८१ साल चैत ३१ गतेको निर्णयअनुसार लागू गरिएको निषेधाज्ञा पछिल्लो समय शान्तिपूर्ण वातावरण कायम हुँदै गएकाले हटाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिनुभएको छ ।



















