कलैया,सिम्रौनगढ नगरपालिकाका करार, अस्थायी र ज्यालादारी कर्मचारीले बुधवार हातमा कालोपट्ी बाँधेर कार्यालयको काम गरेका छन ।३ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएका नगरपालिका कर्मचारीहरुले मगंलवार उद्योग वाणिज्य संघ सिम्रौनगढमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।पत्रकार सम्मेलनमा विरोधका कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका कर्मचारी संघका अध्यक्ष नितेशप्रसाद यादवले बिहीवार पनि हातमा कालोपट्टि बाँधेर कार्यालयको कामकाज गर्ने र २२ देखि २४ गतेसम्म कार्यालयमा पेन डाउन र २५ गते बजारमा र्याली र त्यसपछि पनि माग पुरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।कर्मचारीहरुले नगरपालिका कार्यालयमा ०७४ को स्थानीय निर्वाचनभन्दा पहिला साविकको गाविस र नेपाल सरकारको अन्य विभिन्न निकायहरुबाट आएका र अविछिन्न रुपमा कार्यरत कर्मचारी र निर्वाचन पश्चात् योग्यताको आधारमा छनौट गरेर भर्ना गरिएका कर्मचारीहरुको यथाशीघ्र म्याद थप गर्नुपर्ने, म्याद थप गरिएका र हटाइएको भनिएका कर्मचारीहरुको सुचि सार्वजनिक गरिनुपर्ने र कर्मचारीहरुको आर्थिक वर्ष २०७८÷०७९ मा बाँकी रहेको तलब भत्ता लगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग राखेका छन ।नगरपालिका कार्यालयले विभिन्न पदमा नियुक्त पाएका कर्मचारीहरुको २०७९ असोज महिनामा आर्थिक वर्ष २०७८÷०७९ मा बाँकी बक्यौता तलब बाँकी राखी आर्थिक वर्ष २०७९÷०८० को २०७९ श्रवणदेखि असोज महिनासम्मको तलब मात्रै भुक्तानी गरेको छ ।त्यसैगरी यसअघि कामको मुल्यांकन नै नगरि २०७९,६,२८ गतेको च. नं. २८३ पत्रमा कार्तिकदेखि कर्मचारीहरुको म्याद नथप्ने सूचना गरेपछि उनीहरुले नगरपालिका कार्यालयको गेटमा ताला लगाएर विरोध गरेका थिए ।जिल्ला प्रशासन कार्यालय बारामा भएको छलफलपछि तालाबन्दी खोल्ने सहमति भएको भएपनि सहमति अनुसार नगरपालिका बोर्डले कुनै निर्णय नगरेपछि आन्दोलनमा उत्रिनुपरेको कर्मचारहरुले बताएका छन ।सिम्रौनगढ नगरपालिकामा २ सय ६५ करार अस्थायी करार कर्मचारी रहेका छन् । उनीहरु मध्ये नगरपालिकको सुशासन समितिले १ सय ६३ जनाको मात्र म्याद थपको लागि प्रतिवेदन बोर्डमा पेस गरेको बताइएको छ । तर म्याद थपको लागि पठाइएका भनिएका कर्मचारीको नाम सार्वजनिक नहुँदा कर्मचारीमा अन्यौलमा परेका छन ।
















