काठमाडौं,महाप्रसाद अधिकारीको कार्यकाल सकिएको ४४ दिनपछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुुनुभएको छ । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको लामो रस्साकसीपछि राष्ट्र बैंकले १८औँ गभर्नर पाएको हो ।गत चैत ११ गते नै सिफारिस समिति गठन भएको थियो । तर, दुई सदस्यको राजीनामा पछि मंगलवार नै पहिलोपटक बैठक बसिएको थियो । बैठकले पौडेलसहितको नाम सिफारिस गरेको थियो । पौडल ती व्यक्ति हुन्, जो पहिलोपटक सिफारिस समिति गठन हुँदा सदस्य थिए ।

नेपाली कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएका थिए । तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले महासमितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्री सहमत भएको भन्दै पौडेलले वैशाख २८ गते सिफारिस समितिबाट राजीनामा दिनुभएको थियो ।

राजीनामापछि पनि कांग्रेस र एमालेबीच विश्वासको वातावरण नबन्दा सिफारिस समितिको बैठक बसेको थिएन । तर, सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग आक्रोशित भएपछि बल्ल सरकार तातेको थियो । सोमवार देउवा र ओलीबीच तय भएको बैठक समेत नबसेपछि सत्ता गठबन्धनमै प्रश्न उठेको थियो । मंगलवार भने देउवा–ओलीको भेटसँगै समझदारी अघि बढेको थियो । लगत्तै सिफारिस समितिको बैठक बसी पौडेलसहितको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो ।

नाम बुझाएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको हो । उहाँले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएर समेत काम गर्नुभएको छ ।त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गर्नुभएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बन्नुभएका उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित हुनुभएको थियो । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाउनुभएको थियो ।

Leave a Reply