निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले गत वर्षको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंकसहति सफल हुने एकजना छात्रालाई पुरस्कार बापत एक थान साइकल प्रदान गरेको छ ।विद्यालयको ४८औं जन्मोत्सव तथा अभिभावक दिवश कार्यक्रमको अवसरमा शैक्षिक सत्र ०७८ को एसइइ परीक्षामा ‘ए’ ग्रेडमा सफल हुने एलिसा वाइवालाई बिहीवार पुरस्कार स्वरुप ९ हजार मूल्यको लेडिज हिरो क्वीन साइकल प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नवलकिशोर साहले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एंव निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बीर सिङ्गतानले एलिसालाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयमा दिर्घकालिन सेवा गर्ने शिक्षक रामबाबु चौरसिया र नानु कार्की तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी अर्जुन परियारलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । त्यसैगरी विद्यालयको आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याएबापत शिक्षक दिनानाथ साहलाई सम्मान गरिएको छ ।अभिभावक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी हुने छात्रछात्रालाई सो अवसरमा पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई नगर प्रमुख पुरी, उपप्रमुख थिङ्ग र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंङ्गतानले पुरस्कार प्रदान गर्नुभएको हो ।कार्यक्रममा प्रधानाध्यापक साहले विद्यालयको प्रगति प्रतिवेदन र लेखापाल महेश घिमिरेले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा मेयर पुरी उपमेयर सोममाया थिङ्ग, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, गौरीशंकर मावि सडकटोलका प्रअ यादवकुमार तिमल्सिना, सार्वजनिक मावि बागदेवका प्रअ हस्तबहादुर लामालगायतले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बीर सिङ्गतानको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन शिक्षक रामबाबु चौरसियाले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले चेतनामूलक नाटकसहित मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरेका थिए ।


















