बारा,पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा रहेका अधिकांश पुलहरु जीर्ण बनेपछि सवारी दुर्घटना जोखिम बढेको छ ।पुर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाह, दुधौरा र बालगंगा नदीका पुल मर्मतको अभाव जिर्ण बनेका हुन । नयाँ निर्माण गर्न चार वर्षअघि ठेक्का लागेको दुधौरा पुल अझै अधुरो रहेको छ भने मर्मतको लागि डेढ वर्षअघि ठेक्का लागेको पसाह र बालगंगामा अझै पनि मर्मत कार्य सुरु भएको छैन ।ठेक्का लागेको तीन वर्षमा निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि राजमार्गको दुधौरा पुल निर्माणको हालसम्म ३० प्रतिशत मात्र काम पुरा भएको हो । दुधौरा पुलको पिलर भासिएपछि ४ लेनको नयाँ पुल बनाउन पुल सेक्टर नम्बर २ आयोजनाले २०७५ असारमा ठेक्का लगाएको थियो ।यसअघि भासिएको पुलको रेक्ट्रोफिटिङ्ग गरेको १ वर्षमा नै पुनः भाँसिएपछि नयाँ निर्माण गर्न सडक डिभिजन कार्यालय हेटौडाले ठक्का लगाएको थियो । महादेव खिम्ती हिराचन जेभी काठमाडौंले २ स्पानको ९० मिटर पुल बनाउन १७ करोड २२ लाखमा ठेक्का सकारेको थियो । पटकपटक भाँसिने समस्याले गर्दा आयोजनाले दुधौरा खोलामा ४ लेनको नयाँ पुल निर्माण गर्न ठेक्का लगाएको हो ।आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार ४ वर्षमा २ वटा जग मात्र ठड्याइएको छ । आयोजनाले पटकपटक ताकेता गर्दै आएका भएपनि ठेकेदारको हेलचेक्र्याइँले पुल बन्न नसकेको उहाँले बताउनुभयो । ताकेता गर्दा म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उहाँले बताउनुभयो । निवेदनसँगै आउँदो २०८० असारभित्र निर्माण सक्ने लिखित प्रतिबद्धता गरेको बताउँदै उहाँले कोभिडले निर्माण सामग्रीको अभावसँगै महँगीले काम गर्न नसकेको कारण देखाएको बताउनुभयो ।समयमै पुलको निर्माण कार्य पुरा नहुँदा डाइभर्सनबाट सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन । ५० वर्षअघि निर्माण गरिएको पुलको पिलर भासिएपछि नयाँ पुल बनाउन थालिएको हो । ट्राफिक कार्यालय पथलैयाका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्ने गरेको छ ।त्यसैगरी जीर्ण भएर सवारी र ढुवानीका साधन आवागमनमा समस्या भएपछि राजमार्गको बकैया, पसाह र बालगंगा पुल मर्मतको लागि ठेक्का लागेको एक वर्ष पुरा भइसक्दा अझै पनि मर्मत कार्य सुरु हुन सकेको छैन । न्यु टेक्टिकल वाटर प्रुफिङ्ग एण्ड इन्फा रिह्याबिटेशन कम्पनीले गत असार मसान्तभित्र पुरा गर्ने गरी राजमार्गका ३ वटा पुल मर्मत गर्ने ठेक्का लिएको भए पनि बकैया बाहेक अन्य पुलको अझै पनि काम सुरु नगरेको हो । बकैया पुलको भने कम्पनीले गत बैशाख महिनामा मर्मत कार्य पुरा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here