वीरगन्ज,नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याजदर विरुद्ध वीरगन्ज उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नितिले बजार व्यवसाय तहसनहस भएको भन्दै संघसहित उद्योगी एवम् व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनको पहिलो दिन सोमवार मौद्रिक नितिको सांकेतिक बिरोधस्वरुप वीरगन्ज उद्योग बाणिज्य संघको भवन र नेपाल राष्ट्र बैंकको गेटअगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुन्याइएको छ ।मंगलवारदेखि आआफ्नो व्यवसायिक प्रतिष्ठानअगाडि मौद्रिक नितिको बिरोधमा ब्यानरहरु झुन्ड्याउने र १३ गते राष्ट्र बैंकअगाडि धर्ना दिने र १४ गते उद्योगी व्यवसायीहरुको सहभागीतामा जुलुश प्रदर्शन गरेर नीति सच्याउन दबाब दिने कार्यक्रम रहेको संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले जानकारी दिनुभयो ।राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज र विभिन्न शीर्षकमा रकम असुल्दै आएपछि आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताको भनाइ छ ।संघका अध्यक्ष गुप्तासँगै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मौद्रिक नीति उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उद्योग वाणिज्य संघको आन्दोलनमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जसहित अन्उय बस्तुगत संघ संस्थाहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।उद्योगीहरुको आन्दोलनमा समर्थन जनाउँदै दबाबस्वरुप मंगलवार नै होटल तथा पर्यटन व्यवसायी संघसँग आवद्ध होटलको अगाडि मौद्रिक नीतिको विरोधमा ब्यानर राख्ने संघका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।



















