निजगढ,आर्थिक वर्ष २०८२-०८३ को बजेटमा सुनचाँदी तथा बहुमूल्य पत्थरमा गरिएको कर वृद्धिको विरोधमा देशव्यापी रुपमा सुरु गरिएको आन्दोलनको समर्थनमा निजगढका सुनचाँदी पसलहरू आइतवारदेखि अनिश्चितकालीन रूपमा बन्द भएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा बन्दको घोषणा गरिएको हो । सोही क्रममा निजगढ–कोल्हवी सुनचाँदी व्यवसायी संघले पनि व्यवसाय पूर्णरूपमा ठप्प पारेको हो ।
संघका अध्यक्ष मछिन्द्र गहतराजका अनुसार, सरकारले प्रस्तुत गरेको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको छ, जुन व्यवसायीमात्र होइन, आम उपभोक्ताका लागि पनि अन्यायपूर्ण करको रूपमा देखिएको छ ।
“सरकारको कर नीतिले सम्पूर्ण सुनचाँदी व्यवसाय संकटमा पार्ने देखिएकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ,” अध्यक्ष गहतराजले बताउनुभयो ।व्यवसायीहरूले सुनमा लागू गरिएको विलासिता कर तथा भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि तय गर्नुपर्ने माग गरेका छन् । साथै, उनीहरूले सुनको भन्सार दर ६ प्रतिशतमा सीमित राख्नुपर्ने मागसमेत राखेका छन् ।अध्यक्ष गहतराजले भन्नुभयो, “बजेट वक्तव्यमार्फत सुनचाँदी, जुहारत तथा हस्तकलालाई लक्षित गरी लगाइएको करले मात्र व्यवसायीलाई होइन, सर्वसाधारण उपभोक्तालाई पनि प्रत्यक्ष असर गर्छ । यस्ता अव्यवहारिक नीति खारेज नभएसम्म आन्दोलन जारी रहनेछ ।”विवादास्पद कर नीतिका कारण देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्। निजगढमा समेत आन्दोलनको चपेटा परेपछि उपभोक्ता र व्यापारी दुवै अन्योलमा परेका छन् ।

















